Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक मुठ्ठी बादल’ : आँचलको अभिनयले प्राण भरेको फिल्म

फिल्मीखबर, काठमाडौं, 2026/05/16

aachal sharma

 

अभिनेत्री आँचल शर्माको करिअरले गत अप्रिलमा एक दशक पूरा गरिसकेको छ । सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘नाइँ नभन्नू ल ४’बाट उनले अभिनय यात्राको श्रीगणेश गरेकी थिइन् । यसपछि उनले करिअर पछाडि फर्केर हेर्नुपरेको छैन । तर, हरेक फिल्ममा उनी अभिनयको आलोचनाबाट भने मुक्त हुन सकेकी थिइनन् । प्रायः फिल्ममा त उनको अभिनय नै ‘आउड’ हुन्थ्यो । 

एक दशकदेखि भइरहेको अभिनयको आलोचनाबाट अब भने आँचलले ठूलो राहत पाएकी छन् । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘एक मुठ्ठी बादल’मार्फत उनले आफूलाई अभिनयमा अब्बल सावित गरेकी छन् । यस फिल्ममा घरकी माइली छोरीको भूमिकामा देखिएकी उनले त्यो पात्रको मनोविज्ञानलाई अभिनयमार्फत जीवन्त रूपमा प्रस्तुत गरेकी छन् । 

अघिल्ला फिल्महरूमा उनको मुख्य समस्या ‘डाइलग डेलिभरी’मा देखिन्थ्यो । उनले संवाद बोल्दा किताब पढेजस्तो भान हुन्थ्यो । ‘एक मुठ्ठी बादल’मा भने उनको त्यो कमजोरी दोहोरिएको छैन । फिल्ममा उनले बोल्ने संवाद स्वभाविक लाग्छन् । उनको मौन अभिनय फिल्मको अर्को सशक्त पक्ष हो । थुप्रै दृश्यमा उनले पात्रको मनोदशालाई अनुहारको भावभङ्गीमार्फत प्रस्तुत गरेकी छन् ।

सहारा शर्माको निर्देशनमा बनेको यो फिल्मको मूल कथा नै आँचलमा केन्द्रित छ । उनको विवाहलाई केन्द्रमा राखेर कथा बुनिएको छ । तर, उनको पात्र विवाहदेखि खुसी छैन । परिवारको इज्जत र डरका कारण विद्रोह गर्ने आँट पनि छैन । यस्तो अवस्थामा एक युवतीको मनभित्र चल्ने अन्तरद्वन्द्वलाई आँचलले प्रभावशाली रूपमा पर्दामा उतारेकी छन् ।

उनको अभिनयको प्रशंसा गत बुधबार काठमाडौंमा आयोजित प्रिमियर शोमा पनि भएको थियो । निर्देशक ज्ञानेन्द्र देउजादेखि अभिनेता महेश त्रिपाठीसम्मले उनको अभिनयलाई ‘सरप्राइज प्याकेज’को संज्ञा दिएका थिए । फिल्म प्रदर्शन भएसँगै दर्शकहरूले पनि उनको अभिनय रुचाएका छन् । यसरी हेर्दा यो फिल्मले उनलाई करिअरमा बलियो ‘ब्रेकथ्रु’ दिलाउने देखिन्छ ।