.jpg)
उच्च अदालत पाटनको आदेशमा फिल्म ‘लालीबजार’को प्रदर्शन रोकिएपछि धेरैलाई लागेको थियो- अब फिल्मलाई व्यावसायिक सफलता हासिल गर्न गाह्रो पर्छ । तर, अदालतले प्रदर्शनको बाटो खुला गरेपछि वैशाख २५ गतेबाट हलमा लागेको यो फिल्मले ‘वर्ड अफ माउथ’को बलमा देशभर उत्साहजनक व्यापार गरिरहेको छ ।
फिल्मले पहिलो साता मात्र करिब साढे २ करोड कमाएको छ । दोस्रो साता फिल्मको व्यापार अझ आक्रामक हुने अनुमान गरिएको छ । आज शुक्रबारको व्यापार मात्र फिल्म प्रदर्शन भएको पहिलो दिनको भन्दा बढी छ । भोलि शनिबारका लागि पनि देशभर उत्साहजनक रूपमा टिकट बिक्री भइरहेकाले फिल्मले दुई सातामै ५ करोडको आँकडा कटाउने देखिन्छ ।
दोस्रो साता फिल्मको शोमा समेत भारी वृद्धि देखिएको छ । भोलि शनिबारका लागि फिल्मले देशव्यापी दुई सयभन्दा बढी शो पाएको छ, जुन पहिलो साताको भन्दा लगभग दोब्बरले बढी हो । यसले पनि फिल्मको व्यापार देशभरका हलमा उत्साहजनक रहेको पुष्टि गर्छ । यसको मुख्य आधार भने सकारात्मक ‘वर्ड अफ माउथ’लाई मानिएको छ ।
यो फिल्म बादी समुदायका आमा-छोरीको कथामा आधारित छ । यसैले यो समुदाय फिल्मलाई लिएर दुई कित्तामा बाँडिएको देखिन्छ । एकथरी फिल्मको विरोध गर्दै सडकमा आन्दोलित छन् भने अर्काथरी प्रशंसाको पुल बाँधिरहेका छन् । केही दिनअघि सुर्खेतको एक हलमा डेढ सयभन्दा बढी बादी समुदायका दर्शकले फिल्म हेरेपछि निर्माण टिमलाई धन्यवाद दिएका थिए ।
फिल्मको टिम एक सातादेखि दर्शकसँग भेट गर्न काठमाडौंसहित मोफसलका हलहरूमा समेत पुगिरहेको छ । केही दिनअघि अभिनेत्री स्वस्तिमा खड्कासहितका कलाकारहरूले नेपालगन्ज, बुटवल र सुर्खेतका विभिन्न हलमा पुगेर दर्शकहरूलाई धन्यवाद दिएका थिए । अब स्वस्तिमा भोलि शनिबार चितवन र आइतबार पोखरा जाँदैछिन् ।
यम थापाको निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, रमेश बादी, तारा शर्मा लगायतको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा छन् ।

