
कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु गरेका छन् । शुक्रबार पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्क गाउँमा शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन थालिएको हो । मुहूर्तमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत उपस्थित थिए ।
विजय र अञ्जना दोस्रो पटक फिल्ममा एकसाथ देखिन लागेका हुन् । यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’मा उनीहरूको सहकार्य भएको थियो । यसको व्यावसायिक सफलतापछि सोही फिल्मका निर्देशकले उनीहरूलाई एकसाथ पर्दामा ल्याउन लागेका हुन् । यस फिल्ममा कमलमणि नेपाल, लोकेन्द्र लेखक, उषा खड्गी, भोलाराज सापकोटालगायतको पनि अभिनय रहनेछ ।
३५ दिन छायांकन तालिका राखिएको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा रहेको छ भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन् । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्मको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ । यो फिल्मले एउटी महिलाको मौन पीडा र संघर्ष उजागर गर्ने जनाइएको छ ।

