.jpg)
फिल्ममा डेब्यू नगर्दै अभिनेत्री दिव्या रायमाझीको चर्चा कुनै सुपरस्टारको भन्दा कम थिएन । अभिनेता दीलिप रायमाझीकी छोरी भएका कारण उनी अमेरिकामा रहँदै दर्शकदेखि फिल्मकर्मीसम्मको नजरमा परेकी थिइन् । यसैले उनले फिल्म पाउन संघर्ष नै गर्नुपरेन । तर, फिल्मी दुनियाँमा आएपछि उनको चर्चा बढ्नुको सट्टा घट्दै गइरहेको छ ।
त्यसका पछाडिका कारण दुईवटा देखिन्छन् । एउटा, लगातार फिल्म असफल हुनु । दिव्याका अहिलेसम्म प्रदर्शन भएका कुनै फिल्मले बक्स अफिसमा व्यावसायिक सफलता हासिल गर्न सकेका छैनन् । दोस्रो, अभिनयमा आफ्नो प्रभाव छाड्न नसक्नु । तीनवटा फिल्ममा अभिनय गरिसक्दा समेत न उनको अभिनयको प्रशंसा हुन सकेको छ न अभिनयमा परिपक्वता देखिएको छ ।
पहिलो फिल्म ‘एक्टर: टेक वान’मै उनले ‘स्टार’ कहलिएका प्रदीप खड्काको जोडी भएर काम गरेकी थिइन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । फिल्म र उनको अभिनय दुवै चलेन । यसपछि उनी ‘पिताम्बर’मा देखिइन् । यसमा दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का जस्ता स्थापित कलाकारहरूको पल्टन नै थियो । तर, यसका बाबजुद पनि फिल्म चलेन ।
पछिल्लो रिलिज फिल्म ‘राम नाम सत्य’बाट त दिव्याले फ्लपमा ह्याट्रिक नै गरेकी छन् । एकातिर फिल्मको श्रृंखलाबद्ध असफलता र अर्कोतिर अभिनयको सामान्य चर्चा समेत नहुँदा त्यसले उनको करिअरमा नै संकट निम्त्याएको छ । अब उनको ठूलो आश भनेको नयाँ फिल्म ‘बेहुली’ हो । आफ्नो करिअर जोगाउन पनि उनलाई यो फिल्म चल्नैपर्ने चुनौती छ ।
दिव्यालाई फिल्म क्षेत्रमा स्थापित हुन ‘स्टार किड्स’को छवि पनि भारी बनेको देखिन्छ । पिताको नामका कारण जति सजिलोसँग उनको हातमा फिल्म पर्यो, अहिले उनलाई पिताको छायाँबाट उम्किन त्यति नै गाह्रो भइरहेको छ । किनकि, उनको अभिनयको तुलना पितासँग हुने गरेको छ । जसले गर्दा उनले अभिनयमा औसत हुन पनि छुट पाएकी छैनन् । तनाव छ दिव्यालाई ।

