
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका बेला निर्माताले भजन गीत सार्वजनिक गरेका छन् । ‘चुड्का भजन’ बोलको गीतमा पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको छ भने किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ । किरण स्वयंको संगीत निर्देशन रहेको गीतमा परम्परागत चुड्का लयको प्रयोग गरिएको छ ।
गाउँघरमा विशेष पूजाआजापछि साँझको समयमा हुने भजन कीर्तनको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता विजय बराल मादल बजाइरहेका देखिन्छन् भने वर्षा राउत र मेक्सम गौडेल छमछमी नाचेका छन् । गीतमा मानिसको जीवनलाई कर्कलाको पानीसँग तुलना गर्दै लोभमोह त्यागेर बाँच्नुपर्ने भाव समेटिएको छ ।
चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको यस फिल्मले बक्स अफिसमा अपेक्षाअनुसार व्यापार गर्न नसके पनि दर्शकबाट प्राप्त प्रतिक्रिया उत्साहजनक देखिन्छ । दर्शकहरूले ‘नेपालीपन बोकेको फिल्म’ भन्दै प्रशंसा गरिरहेका छन् । फिल्मबाट सबैभन्दा बढी वाहवाही वर्षा राउतको भइरहेको छ । उनको अभिनयलाई दर्शक र समीक्षकले अहिलेसम्मकै उत्कृष्ट भनेका छन् ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्ममा विजय, वर्षा र मेक्समसहित प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ । सागर ज्ञवाली कार्यकारी निर्माताका रूपमा छन् । फिल्मले एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथा पेस गरेको छ ।

