
गत वर्ष सर्वाधिक कमाइको रेकर्ड बनाएको फिल्म ‘परान’का निर्देशक दीपक प्रसाद आचार्य (काकु)को नयाँ फिल्म ‘चिरञ्जीवी भव:’को शुभ मुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले प्राविधिक र मुख्य कलाकारहरूको उपस्थितिमा ललितपुरको पाटनमा अवस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामरा पूजा गर्दै फिल्मको मुहूर्त गरेको हो ।
सो अवसरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्यले मुहूर्त सट दिएका थिए । त्यसबेला उनले बोलेको संवाद फिल्मको नामसँग सम्बन्धित थियो । उनलाई निर्माण टिमले यसै साता फिल्ममा अनुबन्धित गरेको हो । यसमा उनीसँगै आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको पनि मुख्य भूमिका रहनेछ । चर्चित कन्टेन्ट क्रिएटर प्रशंसाले यही फिल्मबाट डेब्यू गर्दैछिन् ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्ममा प्रियंका कार्की, सुवर्ण थापा, कमलमणि नेपाल, सरोज अर्याल, हरिष निरौला (कक्रोज), सुमन कार्की, सुस्मिता कुँवरलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्मले हजुरबुबा र नातीको भावनात्मक सम्बन्धको कथा पेस गर्ने जनाइएको छ ।
उमेशकुमार बराल निर्माता रहेको फिल्ममा कलाकार गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा छन् । फिल्मको कथा कुमार कट्टेलको हो भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन् । जेठ १५ गतेबाट छायांकन सुरु हुने यस फिल्मलाई माघे संक्रान्तिको अवसर पारेर माघ १ गते रिलिज गर्ने लक्ष्य राखिएको छ ।

