.jpeg)
अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’को सिक्वेल बन्ने भएको छ । संगीतकार तथा निर्देशक टंक बुढाथोकीले आइतबार अभिनेत्री पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्धित गर्दै ‘मन बिनाको धन २’को औपचारिक रूपमा निर्माण घोषणा गरेका हुन् । फिल्मको अघिल्लो भागमा भने नीता ढुंगानाले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् ।
फिल्ममा अनुबन्धित भएपछि पूजाले कथावस्तु र आफ्नो भूमिका मन परेका कारण काम गर्न तयार भएको बताइन् । फिल्मको कथावस्तु पारिवारिक रहेको उनको भनाइ छ । यही वैशाख अन्तिमबाट ‘महाराजधिराज’को छायांकनमा जोडिन लागेकी उनी आगामी भदौमा ‘मन बिनाको धन २’लाई समय दिने योजनामा छिन् ।
‘मन बिनाको धन’ संगीतकार बुढाथोकीको चर्चित गीतमध्ये एक हो । यस गीतलाई अहिलेसम्म युट्युबमा तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यो बाल गायक अशोक दर्जीको पहिलो गीत समेत हो । यही नामको फिल्ममा पनि अशोक मुख्य भूमिकामा थिए । सिक्वेलमा भने उनको अभिनयबारे कुनै जानकारी गराइएको छैन ।
गत वर्ष ‘जारी २’ जस्तो फिल्मसँग प्रतिस्पर्धाका बाबजुद पनि ‘मन बिनाको धन’ले बक्स अफिसमा लगभग ४ करोडको व्यापार गरेको थियो । फिल्मले व्यावसायिक सफलता हासिल गरेपछि टंकले यसको दोस्रो भाग बनाउन लागेका हुन् । फिल्मको निर्देशन उनी आफैंले गर्नेछन् भने विष्णु माया मैनालीले निर्माण गर्नेछिन् । फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ ।

