Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालीबजार’ : मधुबालालाई दर्शक भेट्न भ्याइनभ्याइ

फिल्मीखबर, काठमाडौं, 2026/05/10

Lalibazar

 

फिल्म ‘लालीबजार’ प्रदर्शन भएसँगै अभिनेत्री स्वस्तिमा खड्का उर्फ मधुबाला दैनिक १०-१२ घन्टा हलमा दर्शक भेट्न कुदिरहेकी छन् । शनिबार त उनी मध्यरातसम्म हलमै थिइन् । फिल्मलाई दर्शकबाट प्राप्त प्रतिक्रिया र हलमा देखिएको अकुपेन्सीले उनलाई अझ ऊर्जा दिएको छ । यसैले यतिबेला उनले भोकनिन्द्रा नै बिर्सिएकी छन् । र, हलमा दर्शकहरूसँगै रमाइरहेकी छन् ।

स्वस्तिमा हलमा पुग्दा विशेषगरी महिला दर्शकहरू भक्कानिएर रुँदै अंकमाल गर्न आइपुग्छन् । उनी पनि हरेकलाई अंकमाल गर्दै टिस्यु पेपरले आफैँ आँसु पछिदिन्छिन् । ती दृश्य हेर्दा उनीहरू सेलिब्रेटी र दर्शकभन्दा पनि आमा र सन्तानजस्ता देखिन्छन् । स्वस्तिमालाई हलमा भेट्ने प्रायः दर्शकले उनको अभिनयलाई अहिलेसम्मकै उत्कृष्ट भन्दै प्रशंसा गर्ने गरेका छन् । 

दर्शकबाट प्राप्त प्रतिक्रियाले उत्साहित स्वस्तिमा फिल्मको कथामा महिला र पुरुष दुवैले अपनत्व महसुस गरेकोमा खुसी व्यक्त गर्छन् । भन्छिन्, ‘हामीले फिल्ममार्फत देखाएको विषयलाई दर्शकले स्पष्ट रुपमा बुझ्नु भएको छ । फिल्म हेर्दा महिला र पुरुष दुवैका आँखा रसाएका छन् । स-परिवारलाई नै दर्शकका रुपमा हलमा पाउँदा एकदमै उत्साहित छु ।’

स्वस्तिमासँगै हलमा पुगिरहेका अभिनेता विशाल देवकोटा दर्शकले आफूलाई ‘नारायण’ पात्रको नामबाट बोलाउने गरेको बताए । उनी भन्छन्, ‘हलमा मलाई दर्शकले देख्ने वितिक्कै ‘नारायण’ भन्दै बोलाउनुहुन्छ । मेरो लागि यो नै ठूलो उपलब्धि हो । मैले मेरो पात्रलाई सक्दो जीवन्त बनाउन कोसिस गरेको थिएँ, अहिले पाएको प्रतिक्रियाले त्यो मिहिनेतको फल प्राप्त भएझैँ लागेको छ ।’ 

‘लालीबजार’ले शुक्रबार बिहानसम्म देशभर निराशाजनक व्यापार गरेको थियो । तर, दर्शकीय प्रतिक्रिया राम्रो आउन थालेपछि अपराह्नबाट फिल्मले गति समातेको थियो । शनिबार भने फिल्मले देशभरका हलमा उत्साहजनक व्यापार गर्‍यो । काठमाडौं, चितवन, पोखरा, नेपालगन्ज, इटहरी, विर्तामोड जस्ता सहरमा फिल्मको अकुपेन्सी ८० प्रतिशत हाराहारी देखिएको थियो । 

यम थापाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमा र विशालसहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनारलगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मले बादी समुदायका महिलाको संघर्ष र आमा-छोरीको कथा पेस गरेको छ ।