Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मालती मंगले’लाई दर्शकले भने ‘नेपालीपन बोकेको फिल्म’

फिल्मीखबर, काठमाडौं, 2026/05/10

malati magnale

 

गत शुक्रबार (२५ वैशाख)बाट प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ले यतिबेला व्यापारमा सुधारका लागि बक्स अफिसमा संघर्ष गरिरहेको छ । शुक्रबार सामान्य रहेको फिल्मको व्यापार हिजो शनिबार सन्तोषजनक रह्यो । आइतबारदेखि भने फिल्मको व्यापार पूर्ण रूपमा ‘वर्ड अफ माउथ’मा निर्भर हुने भएकाले निर्माण टिम आशावादी देखिएको छ ।

यस फिल्मले प्रदर्शनको दुई दिन अपेक्षाअनुसार व्यापार गर्न नसके पनि दर्शकीय प्रतिक्रिया सकारात्मक छ । शुक्रबार र शनिबार फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकाल, मुख्य कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम काठमाडौंका विभिन्न हलमा पुग्दा दर्शकहरूले ‘नेपालीपन बोकेको मनछुने फिल्म’ भन्दै प्रशंसा गरेका थिए ।

दर्शकबाट प्राप्त प्रतिक्रियाले उत्साहित निर्माता ढकालले फिल्मको व्यापार विस्तारै बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘कति फिल्मको व्यापार सुरुमा ह्वात्तै भएर पछि घट्दै जान्छ । कति फिल्म चाहिँ दर्शकको प्रतिक्रियाले विस्तारै चल्छन् । ‘मालती मंगले’ले विस्तारै गति बढाइरहेको छ । दर्शकबाट जुन प्रतिक्रिया मिलेको छ, त्यसले फिल्म राम्रो चल्छ भन्नेमा विश्वस्त छु ।’

प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौलालगायतका कलाकारहरूको अभिनय रहेको छ । अभिनेता सरोज खनाल पनि फिल्ममा विशेष भूमिकामा छन् । फिल्मले एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथा पेस गरेको छ ।