
पछिल्लो समय पुराना कलाकारहरू अभिनयमा फर्किने क्रम बढेको छ । पूजा चन्द (लामा), गणेश उप्रेती, विपना थापा, रेजिना उप्रेती, राजबल्लभ कोइराला, ऋचा घिमिरे जस्ता कलाकारहरूले लामो अन्तरालपछि फिल्ममा कमब्याक गरिसकेको अवस्थामा अब कुनै समयका चर्चित भिलेन पुष्कर भट्ट पनि १० वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् ।
पछिल्लो पटक सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘वृन्दावन’मा देखिएका उनले अभिनेता विराज भट्टको निर्देशनमा बनिरहेको फिल्म ‘१२ गाउँ २’बाट अभिनयमा पुनरागमन गरेका हुन् । उनले आफ्नो भूमिकाबारे भने खुलाएका छैनन् । यद्यपि, फिल्ममा उनी भिलेनको भूमिकामा देखिने जनाइएको छ । त्यसका लागि उनले दाह्री पालेका छन् ।
‘१२ गाउँ २’मार्फत विराज र पुष्करको डेढ दशकपछि सहकार्य भएको हो । कुनै समय विराजको अभिनय रहने प्रायः फिल्ममा पुष्कर भिलेनको भूमिकामा देखिन्थे । उनीहरूले ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘प्रहार’, ‘वीरताको चिनो’, ‘सिन्दुर’, ‘रक्षक’, ‘भागी भागी नजाउ’ जस्ता फिल्ममा एकसाथ काम गरेका छन् । पुष्करले विराजलाई आफ्नो गुरु समेत मान्ने गरेका छन् ।
फिल्म क्षेत्रमा राम्रो माग भइरहँदा बेला पुष्कर एक दशकअघि क्यानडा पुगेका थिए । त्यहाँ रहँदा पनि केही म्यूजिक भिडियोमा काम गरेका उनी अब भने अभिनयलाई निरन्तरता दिने योजनासहित नेपाल फर्किएका छन् । ‘१२ गाउँ २’पछि उनी अर्को एक फिल्ममा पनि काम गर्ने तयारीमा छन् । कुनै बेला उनी फिल्ममा भिलेनको भूमिकामा बढी रुचाइएका थिए ।

