Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थलापति विजय बने तमिलनाडुको मुख्यमन्त्री

फिल्मीखबर, काठमाडौं, 2026/05/10

thalapathy vijay  cm

 

तमिल सुपरस्टार थलापति विजय (सी. जोसेफ) भारतको तमिलनाडु राज्यको मुख्यमन्त्री बनेका छन् । उनले आइतबार बिहान १० बजे चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई शनिबार तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

२३ अप्रिलमा भएको विधानसभाको चुनावी नतिजापछि तमिलनाडुको मुख्यमन्त्री को बन्ने भन्ने विषयमा लामो समय सस्पेन्स कायम थियो । विजयले नेतृत्व गरेको पार्टी तमिलगा वेत्री कजगम (टिभीके)ले सबैभन्दा धेरै सिट (२३४ सिटमा १०८ सिट) जितेको भए पनि सरकार बनाउन बहुमत पुगेको थिएन । तमिलनाडु राज्यमा सरकार बनाउनका लागि जादुयी आँकडा ११८ हो ।

बहुमत नजुटेका कारण विजयलाई सरकार बनाउन कठिन भएपछि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिगले ‘टिभीके’लाई बिना शर्त समर्थन दिए । यसपछि विजयको पक्षमा १२१ सिट पुग्यो, जुन तमिलनाडुमा सरकार बनाउन चाहिने बहुमत संख्याभन्दा बढी हो ।

विधानसभा चुनावमा दुई क्षेत्रबाट जित हासिल गरेका विजय ५९ वर्षपछि तमिलनाडुको पहिलो गैर-द्रविडियन मुख्यमन्त्री बनेका हुन् । तर, तमिलनाडुमा कलाकार मुख्यमन्त्री बनेको यो पहिलो पटक भने होइन । यसअघि कलाकारिता पृष्ठभूमिबाट एम. जी. रामचन्द्रन, जे. जयललिता र वी. एन. जानकी रामचन्द्रन तमिलनाडुको मुख्यमन्त्री बनिसकेका छन् । 

तमिलनाडुको मुख्यमन्त्री बन्ने चौथो कलाकार बनेका विजयले आफ्नो अभिनय करिअरमा ६० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनले ४ महिनाअघि ३३ वर्ष लामो अभिनय करिअरबाट सन्न्यास लिएको घोषणा गरेका थिए । अब उनी पूर्ण रूपमा राजनीतिमा सक्रिय हुनेछन् । उनको अन्तिम फिल्म ‘जन नायगन’ कानुनी झमेलामा फसेका कारण प्रदर्शन हुन सकेको छैन । 

थलापति विजयले आफ्नो फिल्मी करिअर १८ वर्षको उमेरमा सुरु गरेका थिए । उनको पहिलो फिल्म ‘नालय थिरपू’ सन् १९९२ मा प्रदर्शन भएको थियो । उनलाई ठूलो व्यावसायिक सफलता भने सन् २००४ मा आएको फिल्म ‘घिल्ली’बाट मिल्यो । यसपछि उनका फिल्महरू श्रृंखलाबद्ध रूपमा सफल भए । जसले उनलाई साउथको ‘मास हिरो’ बनायो ।