.jpg)
दुई साताअघि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले घरेलु बक्स अफिसमा ४ करोडको आँकडा पार गरेको छ । योसँगै यस वर्ष ४ करोड कमाउने यो पहिलो नेपाली फिल्म बनेको छ । हिजो शनिबारसम्म फिल्मको व्यापार ४ करोड नाघेको हो । फिल्मका निर्माता सुशील पोखरेल स्वयंले शनिबार फिल्मको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक गरेका हुन् ।
निर्माता पोखरेलले सार्वजनिक गरेको सिनेपाः बक्स अफिसको तथ्यांक अनुसार फिल्मको २६ वैशाखसम्मको कुल व्यापार ४ करोड ९ हजार ६६ रुपैयाँ ग्रस रहेको छ । कर कटौतीपछि फिल्मको नेट कमाइ भने ३ करोड ४८ लाख ५५ हजार ७४४ रुपैयाँ कायम भएको छ । यो अवधिमा फिल्मका १ लाख ४३ हजार ५७० वटा टिकट बिक्री भएका छन् ।
एकल रिलिजको अवसर र दोस्रो साता (१८ वैशाख)मा कुनै फिल्म रिलिज नहुँदा ‘परालको आगो’लाई व्यापारिक रूपमा ठूलो फाइदा पुगेको देखिन्छ । यो शुक्रबारबाट भने तीन नयाँ फिल्म एकसाथ रिलिज रिलिज हुँदा फिल्मको ८० प्रतिशत शो कटौती भएका छन् । तर, यसका बाबुजद पनि शनिबार फिल्मले ११ लाखमाथि व्यापार गरेको निर्माता पोखरेलले जानकारी दिए ।
‘परालको आगो’को व्यापारबाट सबैभन्दा ठूलो राहत प्रकाश सपूत र सुहाना थापालाई मिलेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’पछि प्रकाशका लगातार पाँच फिल्म असफल भएका थिए । जसले गर्दा उनको करिअर नै संकटमा परेको थियो । सुहानाले पनि आफ्नो अघिल्लो फिल्म ‘भागवत गीता’बाट असफलता बेहोर्नुपरेको थियो । ‘परालको आगो’ भने दुवैका लागि सञ्जीवनी बुटी बनेको छ ।

