Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिर खानको ‘एक दिन’ फ्लप भएपछि साई भन्छिन्, ‘म मिसकास्ट भएँ’

एजेन्सी, काठमाडौं, 2026/05/09

sai pallavi

 

बलिउड सुपरस्टार आमिर खानको निर्माण तथा उनका छोरा जुनैद खानको मुख्य भूमिका रहेको फिल्म ‘एक दिन’ बक्स अफिसमा नराम्रोसँग पिटिएको छ । करिब १५ करोड भारुमा निर्माण भएको यस फिल्मले प्रदर्शनको एक सातामा जम्मा ४ करोड नेट कमाइ गरेको छ । फिल्मलाई समीक्षा र दर्शकीय प्रतिक्रिया पनि राम्रो मिलेको छैन ।

यस फिल्ममा जुनैदको जोडी तमिल अभिनेत्री साई पल्लवीसँग बाँधिएको छ । यो साईको बलिउड डेब्यू समेत हो । तर, उनलाई पहिलो गाँसमै ढुंगा लागेको छ । ‘एक दिन’ व्यावसायिक रूपमा असफल भएपछि उनले यस फिल्ममा आफू ‘मिसकास्ट’ भएको सार्वजनिक रूपमै स्वीकार गरेकी छन् । उनले यो कुरा फिल्मको प्रिमियरपछि आमिर खानलाई समेत भनेकी थिइन् ।

साईका अनुसार प्रिमियरपछि आमिरले फिल्मबारे केही भन्न आग्रह गर्दा उनले भनेकी थिइन्, ‘मलाई यो फिल्म मेरो लागि बनेको जस्तो लागेन । म यसमा विल्कुलै ‘मिसकास्ट’ देखिएकी छु । मलाई लाग्छ, निशाको भूमिकामा अलि नयाँ, फ्ल्यासी र रमाइलो स्वभावकी युवती हुनुपर्थ्यो ।’ तर, जुनैदले भने यो भूमिकामा साई एकदमै सुहाएको बताएका थिए ।

साईले ‘एक दिन’को कथा आफूलाई हलिउड फिल्म ‘बिफोर सनराइज’ शैलीको लागेका कारण पनि काम गर्न सहमति जनाएकी स्मरण गरेकी छन् । उनले हालै जुनैदसँगको एक भिडियो कुराकानीमा भनेकी छन्, ‘जब मलाई यो फिल्मको स्क्रिप्ट आयो, मलाई ‘बिफोर सनराइज’को जस्तै लाग्यो । मलाई त्यो फिल्म निकै मनपर्छ, त्यसैले पनि मैले यो ठ्याक्कै त्यस्तै बन्नेछ भन्ने सोचेकी थिएँ ।’

सुनील पाण्डेद्वारा निर्देशित ‘एक दिन’ सन् २०१६ मा प्रदर्शन भएको थाई फिल्म ‘वन डे’को हिन्दी रिमेक हो । अहिले यो फिल्मको असफलताको एउटा मुख्य कारण यसैलाई मानिएको छ । किनकि, पछिल्लो समय भारतमा रिमेक फिल्मलाई दर्शकले बहिष्कार गरिरहेका छन् । ‘एक दिन’ पनि त्यही प्रवृत्तिको शिकार बनेको विश्लेषण भइरहेको छ ।