Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रोल नं १’को ‘म्याग्दी रुमाले’ गीत सार्वजनिक, भिडियोमा ‘रैया चाँदीको’ झल्को

फिल्मीखबर, काठमाडौं, 2026/05/08

roll no 1 and Purna Bahadur Ko Sarangi  song

 

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ‘रैया चाँदीको’ बोलको गीत धेरैलाई स्मरणमै होला । लोकलयमा आधारित यो गीतको भिडियोमा युवायुवतीहरू साँझको समयमा एउटा घरको आँगनमा रोधी बसेको देखाइएको थियो । त्यही माहोलको झल्को दिने गरी सोही फिल्मका निर्माताको नयाँ फिल्म ‘रोल नं १’मा एउटा गीत समावेश गरिएको छ । त्यो गीत हो, ‘म्याग्दी रुमाले’ ।

शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको यस गीतको भिडियोले दर्शकलाई ‘रैया चाँदीको’ याद दिलाउनेछ । किनकि, दुवै गीतका भिडियोमा युवायुवतीहरू रोधी बसेको दृश्यसँगै पृष्ठभूमिमा देखिने काठको घर पनि उस्तै शैलीको छ । यसबाट निर्माताले ‘रैया चाँदीको’ माहोललाई स्मरण गराउने प्रयास गरेको देखिन्छ । यद्यपि, दुवै गीतको भाका भने फरक छ ।

‘न्याउली वनैमा’ गीतका जोडी प्रशान्त सिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको ‘म्याग्दी रुमाले’ गीतमा सुष्मा सिग्देलको शब्द तथा गायक सिवाकोटी स्वयंको संगीत छ । भिडियोमा भने विनोद न्यौपाने र जुना विश्वकर्मासहित फिल्मका मुख्य कलाकारहरू मुकुन भुसाल र रेणु योगी नृत्य गर्दै देखिएका छन् । गीतका कोरियोग्राफर मौसम हिमाली हुन् ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा मुकुन र रेणुसहित सिर्जना अधिकारी, सुशांक मैनाली, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । जोन योञ्जनको निर्देशनमा बनेको फिल्मका निर्माता विनोद पौडेल हुन् । विनोदले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण गरेका थिए ।

 

Most Visited News (monthly)