सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘एक मुठ्ठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’ गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा शुक्रबार नयाँ गीत ‘पल्लो घर’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । यस गीतमा श्रेया राईको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । ‘द भ्वाइस अफ नेपाल सिजन १’की फाइनलिस्ट रहेकी श्रेयाको पार्श्व गायनमा यो डेब्यू हो ।
सार्वजनिक गीतको भिडियामा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ । उनको विवाह हुन लागेको संकेत भिडियाका दृश्यहरूले दिन्छन् । तर, उनी खुसी देखिन्नन् । घरभित्रका विभिन्न चिज हेर्दै उनी ‘नोस्टाल्जिक’ भएकी छन् । विवाह हुनुअघि एक युवतीको मनमा आउने अनेकौं स्मृतिलाई भिडियोमा उतार्ने प्रयास गरिएको छ ।
जेठ १ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, गौरव विष्ट, मनिष निरौला, सहयोग अधिकारी, अस्मिता गौतम, शेखर चापागाईँ, अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । निशाले यही फिल्मबाट करिब तीन दशकपछि अभिनयमा पुनरागमन गरेकी हुन् ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले संयुक्त रूपमा निर्माण गरेको यस फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । निर्माण टोलीमा जर्मनका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि रहेका छन् । फिल्ममा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन रहेको छ ।

