गएको दुई सातामा फिल्म ‘लालीबजार’ले ठूलो उतारचढाव भोग्यो । यो बीचमा फिल्मविरुद्ध मुद्धा पर्यो । उच्च अदालत पाटनले प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्यो । एकपटक पेशी सर्यो । सडकमा फिल्मका कलाकारहरूले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मौन प्रदर्शन समेत गरे । अन्ततः बुधबार अदालतले फिल्म प्रदर्शनको बाटो खुला गर्यो ।
अदालतको आदेशसँगै शुक्रबारबाट फिल्म प्रदर्शनमा आएको छ । त्यसअघि बिहीबार काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स हलमा फिल्मको प्रिमियर शो राखिएको थियो, जहाँ फिल्मकर्मीदेखि विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । फिल्म सकिएपछि हलमा ठूलो हुटिङसहित ताली बज्दा फिल्मका निर्मातादेखि कलाकारसम्म भावविह्वल बनेका थिए ।
प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का सुरुदेखि नै उत्साहित मुद्रामा देखिएकी थिइन् । तर, फिल्म सकिएपछि जब हरिवंश आचार्य, गौरी मल्लजस्ता सेलिब्रेटीहरूले अंकमाल गर्दै बधाई दिन थाले, त्यसपछि भने उनले आफूलाई सम्हाल्न सकिनन् । उनले हातले आँखा छोप्दै टिस्यू पेपरले पटकपटक आँसु पुछिन्, जुन दृश्य निकै मर्मस्पर्शी देखिन्थ्यो ।
.jpg)
फिल्म हेरेर हलबाट बाहिरिने क्रममा सेलिब्रेटीहरू पनि भावुक देखिन्थे । अभिनेत्री तथा मोडल गरिमा शर्मा त मिडियाकै अगाडि डाको छोडेर रोइन् । उनले स्वस्तिमालाई अंकमाल गर्दै फिल्म हेरिरहँदा आफूले धेरैपटक आँसु रोक्न प्रयास गर्दा पनि नसकेको बताइन् । आमा-छोरीबीचको संवादको एक दृश्यले आफूलाई सबैभन्दा बढी भावुक बनाएको उनको भनाइ थियो ।
प्रिमियरमा फिल्म हेरेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ‘लालीबजार’ उत्कृष्ट लागेको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्म सबै पक्षमा अब्बल छ, नेपाली कथालाई निकै राम्रोसँग पर्दामा प्रस्तुत गरिएको छ । आमा र छोरीको भावनात्मक सम्बन्धलाई फिल्मले निकै राम्रोसँग प्रस्तुत गरेको छ । १० मा यो फिल्मले १० नै नम्बर ‘डिजर्भ’ गर्छ ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वस्तिमाले आफ्नो अभिनय क्षमता पुनः प्रमाणित गरेको दाबी गर्दै षट्कोण आर्ट्सले राम्रो फिल्म बनाएको बताए । ‘स्वस्तिमा सधैं अभिनय क्षमताका कारण चर्चामा आउँछिन्, यसपटक उनले आफ्नो उचाइ झन् बढाएकी छिन् । यो फिल्म हेर्ने जो कोहीको आँखा रसाउँछ । यो फिल्म हाम्रो भाषामा भन्दा ’बबाल’ नै चल्छ’, डिसीले भने ।
प्रिमियरमा निश्चल बस्नेत, नीति शाह, अञ्जना बराइली, अनुपविक्रम शाही, लक्ष्मी बर्देवा, अरुण क्षेत्री, महेश त्रिपाठी, टेरिया मगर, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, पूर्व पत्रकार रविन्द्र मिश्र, बादी समुदायकी अभियता देवीसरा बादी लगायतको पनि उपस्थिति रहेको थियो । मिडियामाझ उनीहरूले फिल्मको विषय र कलाकारहरूको अभिनयले मन छोएको प्रतिक्रिया दिए ।
यम थापाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । यही फिल्मबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यू गरेका छन् ।

