.jpg)
यो साता दुई पुस्ताका तीन लोकप्रिय अभिनेत्रीका फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट मिथिला शर्माको ‘गुरु आमा’, स्वस्तिमा खड्काको ‘लालीबजार’ र वर्षा राउत अभिनीत ‘मालती मंगले’ले देशभरका हलमा प्रदर्शन सुरु गरेका हुन् । यी तीनवटै फिल्मले उठाएको विषयवस्तु फरक-फरक भएकाले दर्शकलाई आफ्नो स्वाद र रुचिअनुसार छान्न पाउने सुविधा देखिन्छ ।
तीन फिल्ममध्ये शो संख्यामा भने ‘लालीबजार’ अगाडि देखिएको छ । यसले शुक्रबार (आज)का लागि देशव्यापी १२० भन्दा बढी शो पाएको छ । दोस्रोमा ‘मालती मंगले’ रहेको छ, जसको शो संख्या १०५ हाराहारी छ । ‘गुरु आमा’ले भने ७१ शो पाएको खल्ती एपमा देखिन्छ । यसरी हेर्दा यी तीन फिल्मले देशव्यापी झन्डै ३ सय शो पाएका छन् ।
गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको ‘मालती मंगले’मा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । प्रकु पाण्डेयको निर्देशन बनेको यस फिल्मले एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथा पेस गरेको छ ।
यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ भने बादी समुदायका आमा-छोरीको कथामा आधारित छ । यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
यो फिल्म वैशाख १८ गते नै प्रदर्शनमा आउनु पर्ने थियो । तर, अदालतमा फिल्मविरुद्ध मुद्धा परेपछि निर्धारित मितिमा प्रदर्शन सकेन । बुधबार उच्च अदालत पाटनले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि फिल्म प्रदर्शनको बाटो खुलेको हो । प्रदर्शनपूर्व बिहीबार काठमाडौंमा फिल्मको प्रिमियर गरिएको थियो ।
त्यस्तै, शुक्रबारबाट प्रदर्शनमा आएको ‘गुरु आमा’मा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम के।सी, राधिका हमाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको एक गीतमा पूजा शर्माले नृत्य गरेकी छन् । प्रेम सोनी सुनारको निर्देशन रहेको यस फिल्मले शिक्षक-शिक्षिका र विद्यार्थीबीचको सम्बन्धको कथा पेस गरेको छ ।

