Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मालती मंगले’को प्रिमियरमा मदनकृष्णदेखि रविसम्मले के भने ?

फिल्मीखबर, काठमाडौं, 2026/05/07

rabi lamichhane and madhan krishna

 

भोलि शुक्रबार (२५ वैशाख)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मंगले’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । बुधबार ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियर शोमा उपस्थित विभिन्न क्षेत्रका व्यक्तिहरूले फिल्मको कथावस्तुदेखि कलाकारहरूको अभिनयसम्मको मुक्तकण्ठले प्रशंसा गरे । 

धेरैपछि प्रिमियरमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले फिल्मको हरेक पक्ष उत्कृष्ट रहेको बताए । उनले भने, ‘मैले धेरैपछि फिल्म हेर्ने मौका पाएँ । मलाई एकदमै मनपर्‍यो । यसमा कमेडी पनि छ, इमोसन पनि छ, कलाकारहरूको अभिनय तथा संवाद पनि राम्रो छ । आम दर्शक भएर हेर्दा फिल्म निकै राम्रो छ ।’

कलाकार मदनकृष्ण श्रेष्ठले पनि फिल्मको प्रशंसा गर्दै कथावस्तु, प्रस्तुतिकरण र कलाकारहरूको अभिनय सशक्त रहेको बताए । उनले भने, ‘समग्रमा फिल्म राम्रो छ । मलाई कथावस्तु नै एकदमै राम्रो लाग्यो । कलाकारहरूको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन । फिल्मले दर्शकलाई मनोरञ्जनसँगै शिक्षा र सन्देश पनि दिन्छ ।’

प्रिमियर शोमा कलाकारहरू कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, सन्दीप क्षेत्री, गायक यम बराल, गायिका रचना रिमाल लगायतको पनि उपस्थिति रहेको थियो । फिल्म हेरेपछि प्रायःले ‘अफ क्यामरा’ अभिनेत्री वर्षा राउतको अभिनयको सबैभन्दा बढी प्रशंसा गरेको देखिन्थ्यो । कतिपयले यस फिल्ममा उनको अभिनयलाई करिअरकै उत्कृष्ट भनेका थिए ।

चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको यस फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथा पेस गरेको छ । 

Most Visited News (monthly)