Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसरी सम्भव भयो ‘मालती मंगले’को सेन्सर ?

फिल्मीखबर, काठमाडौं, 2026/05/06

ram krishna dhakal

 

गत शनिबार सरकारको सिफारिसमा राष्ट्रपतिले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि चलचित्र जाँच समिति (सेन्सर बोर्ड)का सदस्यहरूको नियुक्ति पनि स्वतः खारेज भयो । यसपछि स्वदेशी र विदेशी फिल्मको सेन्सर कसरी हुन्छ भन्ने अन्योलता सिर्जना भएको थियो । दुई दिनसम्म सेन्सरको काम ठप्प नै रह्यो ।

तर, तालुकवाला निकाय सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले सह–सचिव उदय बहादुर रानामगरलाई चलचित्र जाँच समितिको अध्यक्षमा पुनर्वहाली गरेसँगै मंगलबारबाट नियमित रूपमा फिल्म सेन्सरको काम सुरु भएको छ । त्यसका लागि चलचित्र विकास बोर्डले पठाएको १० जना फिल्मकर्मीको नामबाट तीनजना विज्ञ सदस्य पनि छानिएको छ । 

सेन्सरसम्बन्धी अन्योलता हटेसँगै पहिलो फिल्मको रूपमा ‘मालती मंगले’को सेन्सर गरिएको छ । पदमुक्तिसम्बन्धी अध्यादेश जारी भएपछि सोमबार सेन्सरका लागि सञ्चार मन्त्रालय पुगेका यस फिल्मका निर्माता फर्किनुपरेको थियो । मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरूले फिल्म हेरेपछि ‘युनिभर्सल सर्टिफिकेट’ दिएका छन् । अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन् ।

गायक रामकृष्ण ढमालले निर्माण गरेको ‘मालती मंगले’मा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो ।

Most Visited News (monthly)