Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मितज्यू’को पात्र मभन्दा फरक छ : दयाहाङ राई

फिल्मीखबर, काठमाडौं, 2026/05/05

dayahang rai

 

अभिनेता दयाहाङ राईको यस वर्षका लागि पहिलो फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । मितेरी साइनोको कथामा बनेको यस फिल्ममा दयाहाङले ग्रामीण भेगको एक ड्राइभरको भूमिका निभाएका छन् । अर्का अभिनेता सौगात मल्लसँग उनको घम्साघम्सी परेको टिजरमा देख्न सकिन्छ । उनीहरूको जोडीका कारण पनि फिल्मप्रति दर्शकको चासो बढेको छ ।

दयाहाङले यो फिल्मको स्क्रिप्ट भने करिब ८ वर्षअघि नै पढिसकेका रहेछन् । त्यसबेला उनलाई फिल्मको कथावस्तु एकदमै रोचक लागेको थियो । तर, कहिले उनको व्यस्तता त कहिले कोरोना महामारीका कारण फिल्म बन्न सकेको थिएन । गत वर्ष भने उनले समय निकालेरै ‘मितज्यू’मा काम गरे । फिल्म गर्दा रमाइलो भएको उनको अनुभव छ । 

उनी ‘मितज्यू’लाई सम्बन्धको कथाको रूपमा व्याख्या गर्छन् । भन्छन्, ‘विशेषगरी यो पारिवारिक सम्बन्ध, आपसी मित्रता र व्यावसायिकताको कथा हो । एउटा गाउँदेखि सहरसम्म गाडीको रुट छ, जहाँ तीनजना चालकले सेवा दिइरहेका छन् । गाडी चलाउने पेसामा हुने दौडधुप र पारिवारिक जिम्मेवारीबीच पात्रहरू के सोचिरहेका हुन्छन् भन्ने कथाको वरिपरि फिल्म घुमेको छ ।’ 

उनी फिल्ममा आफूले एकदमै गहिरो पात्र निभाएको दाबी गर्छन् । तर, त्यो पात्र आफ्नो स्वभावभन्दा पूर्णतः फरक रहेको उनको भनाइ छ । ‘फिल्ममा मैले निभाएको पात्र मभन्दा नितान्त फरक छ । तर, मैले देखेका र महसुस गरेका यथार्थसँग जोडिएको छ । अहिलेको सामाजिक–राजनीतिक सन्दर्भसँग पनि दर्शकले यसलाई ‘कनेक्ट’ गर्न सक्नुहुन्छ,’ उनले भने ।

दयाहाङले ‘मितज्यू’मा सौगातसँग अघिल्ला फिल्ममा जस्तो सम्बन्ध नभएको पनि स्पष्ट पारेका छन् । फिल्ममा दुई पात्रको उद्देश्य नै फरक रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो सम्बन्ध ‘लुट’ र ‘कबड्डी’मा जस्तो यसमा छैन । फिल्ममा हामी एकअर्कासँग किन लडिरहेका छौँ भन्ने कुरा नै फरक छ । दर्शकलाई सुरुमा एउटा शंका लाग्न सक्छ, तर वास्तविक कुरा अर्कै छ ।’

Most Visited News (monthly)