Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाटुलो जून’का निर्माता र वितरकबीचको विवाद के हो ?

फिल्मीखबर, काठमाडौं, 2026/04/30

jiya kc and gobinda shahi

 

यस वर्षको दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बाटुलो जून’का निर्माता र वितरकबीच आर्थिक लेनदेनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । बुधबार वितरक कम्पनी काफिया फिल्म्सका गोविन्द शाहीले निर्मात्री जिया केसीसँग गरेको वितरणसम्बन्धी सम्झौताको पत्र सार्वजनिक गर्दै २४ घन्टाभित्र हिसाब चुक्ता गर्न अल्टिमेटम दिएपछि फिल्मको विवाद सतहमा आएको हो ।

वितरक शाहीले काफिया फिल्म्सको हिसाब चुक्ता नगरी जिया केसी र भुवन केसीले अर्कै वितरकलाई फिल्म बेचेको आरोप लगाएका छन् । जियाले भने वितरक शाहीको आरोपको प्रतिवाद गर्दै बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छन् । काफिया फिल्म्सले नै ३० असोजमा फिल्म प्रदर्शन गर्न नसक्ने जानकारी गराएको उनको दाबी छ ।

उनले फेसबुकमा लेखेकी छन्, ‘तत्कालीन सम्झौता बमोजिम सम्झौता नम्बर ४ अनुसार दोस्रो पक्ष (काफिया फिल्म्स)ले निर्धारित मितिमा अन्य फिल्म प्रदर्शन गर्न नपाउने सर्त नै कुल्चिसकेको र सम्झौता नम्बर ७ अनुसार एक वर्षभित्र फिल्म प्रदर्शन गर्नुपर्ने र अन्यथासहितको सर्तलाई नजरअन्दाज नगरिएको पनि जानकारी गराउन चाहन्छौं ।’

 

jiya kc and gobinda shahi

 

भुवन केसीकी प्रेमिका समेत रहेकी जियाले उत्पन्न परिस्थितिलाई समाधानका लागि चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतका संस्थाहरूको समन्वयमा छलफल अघि बढिरहेको जानकारी दिँदै यो अवस्थामा वदनियतपूर्ण अभिव्यक्तिसहित सामाजिक सञ्जालमा पोस्ट गरिनु एक निर्माताको सिर्जना र लगानीमाथिको प्रहार रहेको उल्लेख गरेकी छन् । 

वितरक शाहीले सार्वजनिक गरेको पत्रअनुसार गोविन्द र जियाबीच गत असार १ गते फिल्म वितरण र आर्थिक लेनदेनको विषयमा सम्झौता भएको देखिन्छ । साक्षीको रूपमा भुवन केसीले पनि हस्ताक्षर गरेका छन् । उक्त पत्रमा जियाको कम्पनी सनराइज पिक्चरले काफिया फिल्म्सलाई काठमाडौं उपत्यकाभित्र १२ प्रतिशत कमिसनमा फिल्म वितरणको अधिकार दिएको उल्लेख छ ।

त्यस्तै, पत्रको आर्थिक दायित्वसम्बन्धी बुँदामा वितरण जिम्मेवारीको बदलामा काफिया फिल्म्सले ५० लाख रुपैयाँ दिने र फिल्म प्रदर्शनबाट नोक्सान भएमा वा ५० लाख नउठेमा सनराइज पिक्चरले प्रदर्शन समाप्त भएको तीन महिनाभित्र उक्त रकम फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसबापत काफिया फिल्म्सले सनराइज पिक्चरलाई १० लाख भुक्तानी गरिसकेको देखिन्छ ।

 

batulo jun


‘बाटुलो जून’का निर्माता र वितरकबीच विवाद उत्पन्न हुनुको मुख्य कारण भने दशैं रिलिज हो । काफियाले वितरण गर्ने फिल्म ‘१२ गाउँ २’सँग दशैंमा ‘बाटुलो जून’ जुध्ने भएपछि यसका निर्माताले अर्कै कम्पनीलाई काठमाडौंको वितरण अधिकार दिएका थिए । यसपछि काफिया फिल्म्स र सनराइज पिक्चरबीच आर्थिक लेनदेनको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।

Most Visited News (monthly)