Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परालको आगो’को व्यापार २ करोड पार, बन्ला वर्षको पहिलो हिट ?

फिल्मीखबर, काठमाडौं, 2026/04/30

paralko aago

 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले पहिलो साता बक्स अफिसमा सुखद नतिजा निकालेको छ । पहिलो दुई दिनमा १ करोडमाथिको व्यापार गरेको फिल्मले ६ दिनमा भने २ करोडको आँकडा पार गरेको छ । बिहीबार निर्माता सुशील पोखरेलले चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांक नै सार्वजनिक गर्दै कमाइबारे जानकारी दिएका हुन् ।

फिल्मले बुधबारसम्म घरेलु बक्स अफिसमा २ करोड ११ लाख १३ हजार रुपैयाँ ग्रस कमाइ गरेको बोर्डको तथ्यांकमा देखिन्छ । फिल्मको नेट कमाइ भने १ करोड ८४ लाख ४ हजार ३२८ रुपैयाँ रहेको छ । बुधबारसम्म फिल्मका ७६ हजार ९३६ वटा टिकट बिक्री भएका छन् । यसरी हेर्दा फिल्मका लागि प्रदर्शनको पहिलो साता सन्तोषजनक बनेको देखिन्छ ।

‘वर्ड अफ माउथ’ बलियो हुँदा फिल्मले दिन प्रतिदिन हलमा दर्शकको उपस्थिति बढाइरहेको छ । यसैले प्रदर्शनको सातौं दिनमा आइपुग्दा पनि फिल्मको शो खासै घटेको छैन । बिहीबार (आज)लाई मात्र फिल्मले देशव्यापी १४० भन्दा बढी शो पाएको छ, जुन प्रदर्शनको पहिलो दिनको शो संख्या बराबर नै हो । यसले फिल्मले दर्शकलाई हलसम्म तानिरहेको स्पष्ट संकेत गर्छ ।

फिल्मले देशभर सुखद व्यापार गरेपछि मंगलबार निर्देशकदेखि कलाकारसम्म दर्शकहरूको प्रतिक्रिया बुझ्न नेपालगन्ज पुगेका थिए । फिल्मका मुख्य अभिनेता प्रकाश सपूत र अभिनेत्री सिर्जना अधिकारीले बुधबार नेपालगन्जका सिनेरोयल र बागेश्वरी हलमा पुगेर दर्शकहरूसँग भेट गरे । नेपालगन्जबाट उनीहरू बिहीबार काठमाडौं फर्किएका छन् । 

लक्ष्मण सुनारको निर्देशनमा बनेको ‘परालको आगो’ लगभग ३ करोडको लगानीमा निर्माण भएको बुझिएको छ । यो लगानी उठाउन फिल्मले घरेलु बजारबाट झन्डै ७ करोडको व्यापार गर्नुपर्छ । पहिलो ६ दिनमै २ करोडको आँकडा पार गरेको फिल्मले अब ५ करोड रुपैयाँ ग्रस कमाउँदा लगानी सुरक्षित हुने देखिन्छ । यो हुँदा ‘परालको आगो’ यस वर्षको पहिलो हिट फिल्म बन्नेछ ।

 

Most Visited News (monthly)