
अभिनेता सौगात मल्लको मुख्य भूमिका रहने फिल्म ‘जुबा’को छायांकन सुरु गरिएको छ । मंगलबार सर्लाहीको एक मन्दिरमा विशेष पूजाआजा गर्दै शुभ मुहूर्त गरेपछि बुधबारबाट फिल्मको छायांकन थालिएको हो । सर्लाहीमा ७ दिनसम्म फिल्मको छायांकन हुने जनाइएको छ । यसपछि काठमाडौं र भारतको राजस्थानमा छायांकन गरिनेछ ।
प्रकाश कर्णको लेखन तथा निर्देशनमा बन्ने यस फिल्ममा सौगातको जोडी सोफी धरेलसँग बाँधिएको छ । सोफीले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी हुन् । फिल्ममा सुधन पोखरेल र जीवन भट्टराईको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकारहरूको बारेमा भने निर्माण पक्षले जानकारी दिएको छैन ।
फिल्मको छायांकन सुरु हुनुभन्दा ८ महिनाअघि नै सौगातसहितका कलाकारहरूको पोस्टरमार्फत पात्र लुक्स सार्वजनिक गरिएको थियो । पोस्टरमा सौगात जुँगा र लामो कपालसहित देखिएका थिए । एक पोस्टरमा उनले घुँडा टेकेर क्यामेरालाई नमस्कार गरेको दृश्य समेत थियो, जसले फिल्ममा उनी कलाकारकै भूमिकामा देखिन लागेको संकेत गर्छ ।
करिब ५० को दशकको कथावस्तुमा बन्न लागेको यस फिल्मको पटकथा तथा संवाद वर्षा पौडेलले लेखेकी हुन् । अस्त्र फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन प्रमोद प्रधानले गर्नेछन् । उनले ‘दक्षिणा’, ‘त्रिशूली’, ‘अन्याय’, ‘चिनो’, ‘कोसेली’ जस्ता नेपाली र ‘देवदास’, ‘रङ दे बसन्ती’, ‘भाग मिल्खा भाग’ जस्ता भारतीय फिल्मको छायांकन गरिसकेका छन् ।

