
फिल्म प्रदर्शनको उच्च चाप हुने महिनामध्ये भदौ पनि एक मानिन्छ । जनै पूर्णिमा, कृष्ण जन्माष्टमी र तीज गरी तीनवटा पर्व यो महिनामा पर्ने भएकाले फिल्म रिलिजका लागि निर्माताहरूबीच ठूलै हानाथाप हुने गरेको छ । केही वर्षयता यो महिनामा आधा दर्जनभन्दा बढी फिल्म रिलिज हुँदै आएका छन् । गत वर्षको भदौमा मात्र ८ वटा फिल्म प्रदर्शन भएका थिए ।
यस वर्षको भदौमा भने फिल्म रिलिजको चाप एक दशकयताकै उच्च हुने देखिएको छ । अहिलेसम्म ११ वटा फिल्मले भदौलाई प्रदर्शन मिति तय गरिसकेका छन् । बक्स अफिसमा सबैभन्दा ठूलो भिडन्त भने भदौ १२ गते हुने देखिन्छ । जनै पूर्णिमा तथा रक्षा बन्धनको सार्वजनिक विदा परेको यो मितिमा ५ वटा फिल्म प्रदर्शन हुने तयारीमा छन् ।
भदौ १२ गतेलाई प्रदर्शन मिति तय गरेका फिल्महरूमा ‘बेहुली’, ‘मास्टर्नी’, ‘पार्वती’, ‘जदौ’, र ‘ग्रेट’ रहेका छन् । ‘बेहुली’बाहेक अन्य फिल्मको छायांकन पूरा भइसकेको छ । यी फिल्महरू रिलिज भएको अर्को साता अर्थात् १९ भदौमा भने तीन फिल्म हलमा लाग्नेछन्, ‘स्टेशन’, ‘ककाकिकी’ र ‘बा: एक योद्धा’ । यसमध्ये छायांकन हुन बाँकी फिल्म ‘स्टेशन’ मात्र हो ।
भदौको अन्तिम साता पनि तीनवटा फिल्म प्रदर्शनमा आउँदैछन् । ‘माया भनेकै यस्तै होला’, ‘पेन्सन पट्टा’ र ‘टिका’ले २६ भदौलाई प्रदर्शन मिति तय गरेका छन् । यसरी हेर्दा भदौमा हलहरू नेपाली फिल्मले नै भरिने देखिन्छ । अब यीमध्ये कुन फिल्म रिलिज हुन्छन् र कुन पछाडि हट्छन्, त्यो भने हेर्न बाँकी छ । तर, अहिलेसम्म कुनै निर्माता आफ्नो निर्णयबाट टसमस भएका छैनन् ।

