
‘गौंथली’लाई नेपालको ‘कल्ट क्लासिक’ फिल्ममध्ये एक मानिन्छ । दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको यो फिल्मले त्यसबेला ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो । वसन्त श्रेष्ठको निर्देशनमा बनेको यो नेपालको पहिलो गीति फिल्म समेत हो । अब सोही नाममा डा. रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ फिल्म बनाएका छन् ।
करिब ३-४ महिनाअघि नै छायांकन पूरा भइसकेको यो फिल्मको मंगलबार एक पोस्टर सार्वजनिक गर्दै आगामी साउन १ गतेलाई प्रदर्शन मिति तय गरिएको छ । यस फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काको जोडीलाई पर्दामा देख्न पाइनेछ । उनीहरूसहित फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, सीतादेवी तिमल्सिना लगायतको पनि अभिनय रहेको छ ।
डा. भोला रिजालको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद कपिल रिजाल, निश्चल कुँवर, गिरिराज घिमिरे र नीरज नेपालले संयुक्त रूपमा तयार पारेका हुन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने सरला रिजाल कार्यकारी निर्माताको रूपमा छिन् ।
इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माता रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी तथा एलिस कार्कीको पार्श्व संगीत छ ।

