
हास्य सिरियल ‘सर्खारको सर’का निर्देशक विनयराज पौडेलले अब फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘अक्षरा’ राखिएको छ । मंगलबार निर्माण पक्षले कथावस्तु र त्यसको सेटिङबारे जानकारी दिने थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरेको हो ।
एआई जेनेरेटेड पोस्टरमा एक महिला झोला बोकेर बिहानीको समयमा कतै हिँड्दै गरेको देख्न सकिन्छ । पृष्ठभूमिमा भने पहाड, खोला र झुप्रा घरहरू देखिन्छन् । यसले ग्रामीण परिवेशमा फिल्म आधारित हुने संकेत गर्छ । पोस्टरमा महिला मात्र चित्रित हुनुले भने फिल्म नारीप्रधान रहेको बुझ्न सकिन्छ । यद्यपि, निर्माण पक्षले कथावस्तुबारे जानकारी दिएको छैन ।
राजन दुलाल प्रस्तुतकर्ता रहेको यो फिल्मको छायांकन वैशाख २७ गतेबाट सुरु हुने जनाइएको छ । तर, फिल्ममा अभिनय गर्ने कलाकारहरूको नाम भने अहिलेसम्म गोप्य राखिएको छ । उग्रसेन ढुंगाना र सुरज थापा निर्माता रहेको फिल्मको कथा उग्रसेन स्वयंको हो भने पटकथा अभिमन्यु निरवीले तयार पारेका छन् ।

