Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाको ‘मास्टर्नी’ ८ भाषामा रिलिज हुने, भारतमा हुँदैछ पोस्ट-प्रोडक्सन

फिल्मीखबर, काठमाडौं, 2026/04/26

priyanka karki (1) - Copy

 

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिचर फिल्म ‘मास्टर्नी’ भदौ १२ गतेबाट प्रदर्शन हुने तयारीमा छ । उनी स्वयंको मुख्य भूमिका रहेको यो फिल्मको यतिबेला भारतको प्रतिष्ठित ‘यशराज स्टुडियोज्’मा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । यसका लागि प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी अहिले भारतमा छन् । 

प्रियंकाले शनिबार सामाजिक सञ्जालमा फिल्मको डबिङ गरिरहेको तस्वीर सेअर गर्दै ‘यशराज स्टुडियोज्’मा पोस्ट-प्रोडक्सनको काम गर्नु एउटा सपना साकार भएजस्तै भएको बताएकी छिन् । डबिङको क्रममा उनको बलिउडका चर्चित अभिनेता अनिल कपूरसँग पनि भेट भएको छ । अनिलसँगको दुईवटा तस्वीर सेअर गर्दै उनले आफूलाई ‘फ्यान गर्ल’ भनेकी छन् ।

यस फिल्मका निर्देशक सुभेन्दू घोष भारतीय भएकाले उनकै सक्रियता र उपस्थितिमा फिल्मको पोस्ट प्रोडक्सनको काम ‘यशराज स्टुडियोज्’मा भइरहेको हो । यो फिल्मलाई नेपालीसहित ८ वटा भाषामा तयार गरिँदैछ । हिन्दी, बंगाली, पञ्जाबी, तमिल, तेलुगु, मलायलम र भोजपुरी भाषामा फिल्मलाई डब गरेर नेपाल र भारतमा रिलिज गरिने जनाइएको छ । 

एक शिक्षिकाको कथामा बनेको यस फिल्ममा प्रियंकासहित सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता रहेको फिल्ममा प्रियंका स्वयंको कथा छ भने शान बस्न्यातको पटकथा तथा प्रियंका र शानको संवाद लेखन छ । 

Most Visited News (monthly)