आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । टिजर र अघिल्लो गीत ‘गैराघरे काइँली’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण पक्षले आइतबार लोकलयमा आधारित उक्त गीत दर्शकमाझ ल्याएको हो । गीतमा युवायुवतीबीचको प्रेम र आकर्षणलाई मुख्य विषय बनाइएको छ ।
यस गीतमा श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको युगल गायन रहेको छ भने शब्द तथा संगीत गायक मल्ल स्वयंको हो । गीतको एरेञ्ज कृष्ण बिकले गरेका हुन् । दोहोरी साँझमा खिचिएको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार सौगात मल्ल र दयाहाङ राईसहित रुषा न्यौपानेलाई छमछमी नाचेको देख्न सकिन्छ । गीतका कोरियोग्राफर निङ्मा डी लेप्चा हुन् ।
मितेरी साइनोको कथामा आधारित यस फिल्ममा दयाहाङ र सौगातसहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन (खबपु) लगायतका कलाकारहरूको अभिनय रहेको छ । यही फिल्मबाट चर्चित डान्सर तेरिया फौजा मगरले अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन् ।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन् । यसअघि अनिल र जनकले ‘घरज्वाइँ’मा सहकार्य गरेका थिए, जुन व्यावसायिक रूपमा सफल भएको थियो । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

