.jpg)
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले घरेलु बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ । एक सयभन्दा बढी शोजसहित प्रदर्शनमा उत्रिएको यो फिल्मले पहिलो दुई दिनमा १ करोडमाथि ग्रस कमाइ गरेको निर्माताले दाबी गरेका छन् । फिल्मले पहिलो दिन ४० लाख हाराहारी र दोस्रो दिन शनिबार ६० लाखमाथि व्यापार गरेको जनाइएको छ ।
फिल्मले शुक्रबार देशव्यापी ३० प्रतिशत हाराहारी अकुपेन्सी हासिल गरेको थियो । काठमाडौंसहित नेपालगञ्ज, धनगडी, बुटवल लगायतका सहरमा फिल्मका शोहरू बिहानैदेखि भरिभराउ थिए । पहिलो शोमा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा त्यसको प्रभाव मध्यान्हपछिका शोमा देखिएको थियो । शनिबार भने फिल्मले देशव्यापी ५० प्रतिशतमाथि अकुपेन्सी हासिल गर्यो ।
फिल्म प्रदर्शन भएसँगै निर्माता-निर्देशकदेखि कलाकारसम्म काठमाडौंमा विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । शनिबार फिल्मका मुख्य जोडी प्रकाश सपूत र सुहाना थापा बाजालुस्थित अष्टनारायण हलमा पुग्दा त्यहाँको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनेको थियो । उक्त हलमा करिब १ हजार दर्शकले फिल्म हेरेका थिए ।
.jpg)
फिल्मलाई दर्शकहरूले दिएको प्रतिक्रियाले प्रकाश र सुहाना खुसी देखिएका छन् । शनिबार हल भ्रमणको क्रममा सुहानाले सञ्चारकर्मीसँग कुराकानी गर्दै गौंथली पात्र दर्शकको मनमा बस्न सफल भएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘एकजना आमाले फिल्म हेरेपछि मलाई भेटेर कसरी सहन सकेकी भन्नुभएको थियो । म त्यो एउटा प्रतिक्रियाले नै सन्तुष्ट छु ।’
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा प्रकाश र सुहानासहित सौगात मल्ल, सिर्जना अधिकारी, शंकर आचार्य, ज्याक श्रेष्ठ, किशोर भण्डारी, सरिता भण्डारी, मन्जिला बानियाँलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा श्रीमान्-श्रीमतीको झगडालाई मुख्य विषयवस्तु बनाइएको छ ।

