.jpeg)
कर्णाली प्रदेशको कथा, कला, संस्कृति, र प्राकृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ तेस्रो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको तेस्रो संस्करणबारे जानकारी गराइयो । वैशाख ११ र १२ गते आयोजना हुने महोत्सवको नारा ‘घुमौं कर्णाली, हेरौं कर्णाली’ राखिएको छ ।
महोत्सव सुरु भएको दिन वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा बनेका फिल्मको प्रदर्शनसँगै चलचित्र पर्यटन संवादको समेत आयोजना गरिएको छ । उक्त कार्यक्रममा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड, संघीय, प्रादेशिक र स्थानीय तहका प्रतिनिधिहरूका साथै फिल्म निर्माता, निर्देशक र कलाकारहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
महोत्सवको दोस्रो दिन अर्थात् वैशाख १२ गते सल्यानको कुपिण्डे दहमा विशेष ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ आयोजना गरिने भएको छ । यस वर्ष महोत्सवमा ‘चलचित्र कथा प्रतियोगिता’लाई पनि अघि सारिएको छ । कर्णालीका कथा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा उत्कृष्ट हुने कथालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका निर्देशक चक्र बहादुर चन्दले प्रचुर सम्भावना भएर पनि कर्णालीमा फिल्म र पर्यटनका गतिविधि शून्यप्रायः रहेको अवस्थामा यो महोत्सव एउटा कोसेढुङ्गा साबित हुने बताए । कर्णालीको माटो र कथा विश्वलाई देखाउँदै यस क्षेत्रलाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विकास गर्ने महोत्सवको योजना रहेको उनले स्पष्ट पारे ।

