
अभिनेता गौरव विष्ट दर्शकमाझ उति धेरै परिचित भइसकेका छैनन् । यद्यपि, उनीसँग अभिनयको भने लामो अनुभव छ । रंगमञ्च हुँदै फिल्म अभिनयमा होमिएका उनले दुई वर्षको अन्तरालमा करिब आधा दर्जन फिल्ममा काम गरिसकेका छन् । २०८० सालमा प्रदर्शन भएको फिल्म ‘परस्त्री’बाट उनले अभिनेताका रुपमा डेब्यू गरेका थिए ।
यसपछि ‘चि मुसी चि : इभन डेड डिजायर बिलोङगिङ’, ‘पिताम्बर’, ‘के घर के डेरा २’ जस्ता फिल्ममा काम गरिसकेका उनको नयाँ फिल्म ‘एक मुठ्ठी बादल’ आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी आँचल शर्मा, निशा शर्मा, उषा रजक लगायतका कलाकारहरूसँग देखिँदैछन् । उनको भूमिकाबारे भने निर्माण पक्षले केही खुलाएको छैन ।
गौरवले यो फिल्मका लागि शरीरिक रूपान्तरणमा निकै मिहिनेत गरेका थिए । आफ्नो पात्रमा फिट देखिन उनले ९ केजी तौल घटाएका थिए । बिहीबार निर्माण पक्षले सार्वजनिक गरेको उनको हालको तस्वीर र फिल्मको क्यारेक्टर पोस्टर हेर्दा पनि उनले तौल घटाउन गरेको मिहिनेत प्रस्ट देखिन्छ । अब उनलाई मिहिनेतको फल चाहिँ कस्तो मिल्छ, त्यो जेठ १ पछि नै थाहा हुनेछ ।
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले एउटा संयुक्त परिवारको कथा भनेको छ । फिल्ममा अभिमन्यु दीक्षितको लगानी रहेको छ भने कार्यकारी निर्मातामा निकुन श्रेष्ठ छन् । जर्मनका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलले पनि निर्माणमा सहकार्य गरेको यस फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन रहेको छ ।

