Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा ढल्यो ‘पहाड’

फिल्मीखबर, काठमाडौं, 2026/04/22

pahad movie

 

कुनै समय थियो, निर्देशक तुलसी घिमिरेको नाम मात्रैले पनि फिल्म चल्थ्यो । उनका फिल्मले निराश बनाउँदैन भन्ने विश्वासमा दर्शक हलसम्म पुग्थे । यसैले त २ दशकअघि उनका हरेक फिल्मले व्यापारमा कीर्तिमान बनाउँथे । तर, अहिले समय फेरिएको छ । दर्शक फेरिएका छन् । फिल्ममा कथा भन्ने शैली फेरिएको छ । जसको असर उनको फिल्ममा पनि परिरहेको छ । 

कुनै बेला बक्स अफिसका ‘हिट मेसिन’ कहलिएका निर्देशक घिमिरे डेढ दशकदेखि श्रृंखलाबद्ध रुपमा फिल्मको असफलतासँग जुधिरहेका छन् । उनलाई आफ्नो कालजयी फिल्म ‘दर्पण छायाँ’को दोस्रो श्रृंखलाले समेत व्यावसायिक सफलता दिलाउन सकेन । ८ वर्षपछि फिल्म ‘पहाड’बाट निर्देशनमा फर्किएका उनलाई यसले पनि ठूलो धक्का दिएको छ । 

नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आएको उक्त फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणमा फिल्मको ५ दिनको कमाइ ४६ लाख ७६ हजार ६३७ रुपैयाँ ग्रस थियो । मंगलबारसम्म फिल्मले ५० लाखमाथि कमाएको छ । तर, अब फिल्मको लगानी उठ्ने सम्भावना भने देखिँदैन ।

फिल्मले बुकिङ खुल्दा पाएको कुल शोजमध्ये आधाभन्दा बढी कटौती भइसकेको छ । सुरुमा ३-४ वटासम्म शो दिएका हलहरूले दर्शक अभावका कारण आइतबारदेखि एउटा शो दिएर फिल्म चलाइरहेका छन् । केही हलबाट फिल्म उत्रिने अवस्थामा समेत पुगेको छ । ‘वर्ड अफ माउथ’ बलियो नहुँदा फिल्मलाई व्यापारिक गति बढाउन मुस्किल भएको देखिन्छ ।

यो फिल्ममा स्थापित कलाकारहरूको ‘पल्टन’ नै छ । ५० लाखमाथि पारिश्रमिक लिने अभिनेता विपिन कार्कीको समेत फिल्ममा मुख्य भूमिका रहेको छ । तर, न निर्देशक न कलाकारको नामले हलसम्म दर्शक पुगेका छन् । अब कुनै चमत्कार नभए फिल्मले ठूलो घाटा बेहोर्ने निश्चित देखिन्छ । कमजोर कथावाचन र अपर्याप्त प्रचारका कारण ‘पहाड’ बक्स अफिसमा ढल्न पुगेको प्रस्ट छ ।

Most Visited News (monthly)