.jpg)
आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भएर बनेको सोही नामको फिल्म यही शुक्रबार (११ वैशाख)बाट प्रदर्शनमा आउँदैछ । गीतदेखि टिजर-ट्रेलरसम्मले दर्शकमा बढाएको कौतुहलता र बलियो ‘स्टारकास्ट’का कारण फिल्मले घरेलु बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।
फिल्म प्रदर्शनका लागि अब तीन बाँकी रहँदा हलहरूले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । फिल्मलाई देशभरका हलहरूले पर्याप्य शोज उपलब्ध गराएका छन् । बुधबार दिउँसो ११ बजेसम्म फिल्मले देशव्यापी १ सयभन्दा बढी शोज पाइसकेको छ । अझै केही हलहरूले बुकिङ खुलाउन बाँकी रहेकाले शोजको संख्या १३० हाराहारी पुग्ने देखिन्छ ।
यो फिल्मका लागि अब सबैभन्दा ठूलो चुनौती प्राप्त शोजलाई अकुपेन्सीमा बदल्नु हो । त्यसका लागि फिल्मले दर्शकीय प्रतिक्रिया सकारात्मक पाउनुपर्नेछ । फिल्मको व्यावसायिक भविष्य पनि यसले नै निर्धारण गर्नेछ । सोलो रिलिज र शनिबार-आइतबारको विदाका कारण फिल्मलाई व्यापारिक रूपमा भने अनुकूल अवस्था देखिएको छ ।
२ घन्टा १५ मिनेट रनटाइम तय भएको यस फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बानियाँ लगायतको अभिनय रहेको छ । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन् । यसमा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन छ ।

