.jpg)
नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणमा फिल्मले ९ दिनमा २ करोड ७९ लाख रुपैयाँ ग्रस कमाएको उल्लेख छ । फिल्मको यो कमाइ ९७ हजार २०५ वटा टिकट बिक्रीबाट भएको हो ।
बोर्डले फिल्मको ९ दिनको कमाइ विवरण सार्वजनिक गरेपछि मंगलबार वितरक गोविन्द शाहीले सोमबारसम्म फिल्मले ३ करोड २० लाख कमाएको दाबी गरेका छन् । उनका अनुसार केही हलमा बक्स अफिस सिस्टम जडान नभएकाले बोर्डको विवरणभन्दा फिल्मको कमाइ केही बढी रहेको छ । फिल्मले अझै पनि दर्शकको साथ राम्रो पाइरहेकाले व्यापार बढ्ने उनको विश्वास छ ।
फिल्मको व्यापारबाट निर्माता पनि सन्तुष्ट देखिएका छन् । निर्माता उपेन्द्र शाहीले फिल्मको लगानी सुरक्षित हुने बाटोमा रहेको दाबी गरे । उनका अनुसार अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख र डिजिटल राइट्सबाट ७२ लाख रुपैयाँमा प्राप्त भएको छ । यसमा हलको पनि कमाइ जोड्दा फिल्ममा भएको तीन करोड लगानी उठ्ने निश्चित रहेको उनको भनाइ छ ।
माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंंह ठकुरी, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको अभिनय रहेको छ । स्वेता विमली र उपेन्द्र शाहीले फिल्मको निर्माण गरेका हुन् । निर्माताले यो फिल्मको सिक्वेल निर्माणको समेत घोषणा गरिसकेका छन् ।

