अभिनेत्री निरुता सिंहको करिअरको सबैभन्दा यादगार फिल्ममध्ये मानिन्छ, ‘दर्पण छायाँ’ । यो फिल्मपछि उनले आफ्नो करिअर पछाडि फर्केर हेर्नु परेको थिएन । तुलसी घिमिरेको निर्देशनमा बनेको यस फिल्ममा निरुतासँगै उत्तम प्रधान र दीलिप रायमाझीको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । एकपटक फेरि उनीहरूलाई पर्दामा हेर्न ‘दर्पण छायाँ’ पुस्ताका दर्शक अधैर्य छन् ।
करिब ५ वर्षअघि उत्तमले आफ्नो निर्देशनमा उक्त फिल्मको सिक्वेल बनाउन लागेको खबर बाहिरिएको थियो । त्यसलाई ‘दर्पण छायाँपछि’ नाम दिइएको थियो । यो फिल्ममा काम गर्न निरुता र दीलिप पनि तयार थिए । तर, अहिलेसम्म फिल्म निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । पछिल्लो समय यो फिल्म नबन्ने चर्चा समेत चलिरहेको छ ।
तर, सोमबार काठमाडौंमा आयोजित फिल्म ‘सारथी’को शुभ मुहूर्त समारोहमा निरुताले ‘दर्पण छायाँपछि’ निर्माण हुने स्पष्ट पारेकी छन् । उनले पत्रकारसँग कुराकानी गर्दै भनिन्, ‘यो प्रोजेक्ट अहिले पनि ‘अन’ नै छ । त्यसको कथा उत्तमजीले लेख्नुभएको हो । ‘दर्पण छायाँ’ सकिएको २० वर्षपछिको कथा हो त्यो । उत्तमजीले एकदमै राम्रो कथा लेख्नुभएको छ ।’
निरुताले २२ वर्षपछि ‘सारथी’मा उत्तमसँग काम गर्दैछिन् । फिल्मको छायांकनका लागि उत्तम वैशाख १५ गते नेपाल आउँदैछन् । यो फिल्मका लागि नेपाल आएको समयमा उत्तमले ‘दर्पण छायाँपछि’लाई अन्तिम रुप दिने निरुता बताउँछिन् । उनी भन्छिन्, ‘उहाँ ‘सारथी’को छायांकनमा आउँदा त्यो फिल्मको पनि तयारी थाल्नुहुनेछ । सम्भवतः चाँडै हामी छायांकनमा जानेछौं ।’

