
‘मञ्जरी’ निर्देशक गणेश देव पाण्डेको पाँचौं निर्देशकीय फिल्म ‘पारी बुटोल’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४० सेकेण्ड लम्बाइको टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारेको छ । बुटोल भन्ने ठाउँका दुई ग्याङबीचको झडपलाई टिजरको केन्द्रमा राखिएको छ । यसले फिल्म ग्याङ्स्टर कथामा निर्माण भएको प्रस्ट पार्छ ।
कलाकारहरूको अभिनय, महेश पौडेलको छायांकन, जटावेदा बेनर्जीको पार्श्व संगीत र र्यापर सुरज क्षेत्री (भ्योमा)को गीतको संयोजन टिजरमा बेजोड देखिएको छ । कलाकारहरूको लुक्स र गेटअपले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ । अनुप बराल, दीया मास्के, सुशील सिटौला लगायतका कलाकारहरूलाई टिजरमा देख्न सकिन्छ ।
फिल्मका लेखक तथा निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ केवल ग्याङ्स्टर फिल्म मात्र होइन । उनी भन्छन्, ‘यो युवाहरू, उनीहरूको परिवार, सङ्घर्ष र सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने चलखेललाई सामान्य बनाउने प्रयासको कथा हो । फिल्मले दर्शकलाई एकदमै लोकल र यथार्थपरक अनुभूति दिनेछ ।’
ल्याक्सी श्रेष्ठले निर्माण गरेको यस फिल्ममा मनिषा अधिकारी सह-निर्माताको रूपमा छन् । फिल्ममा अनुप, दीया र सुशीलसहित अविरल प्रताप अधिकारी, कामेश्वर चौरासिया, दिव्य देव, आकांक्षा केसी, किरण श्रेष्ठ, अदिती शेर्पा, आदि मिश्र लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । यसमा लोकेश बज्राचार्यको सम्पादन तथा एनबी महर्जनको द्वन्द्व निर्देशन छ ।

