अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘काजी’ आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार निर्माताले युट्युबमार्फत प्रिभ्यू टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । यसअघि गत चैत २७ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको थियो ।
१ मिनेट ४२ सेकेण्ड लामो टिजरमा फिल्मका मुख्य जोडी विपिन र केकीलाई देख्न सकिन्छ । विवाहको साँझमा उनीहरूबीचको प्रेमिल संवाद र दृश्यलाई समेटिएको टिजरले ग्रामीण परिवेशमा फिल्म आधारित रहेको स्पष्ट पार्छ । साथै, एक दम्पतीको सम्बन्धमा आउने उतारचढाव र सामाजिक विषयलाई फिल्ममा मुख्य कथानक बनाइएको संकेत पनि टिजरले दिन्छ ।
लक्ष्मण रिजालको निर्देशनमा बनेको यस फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीप बाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा, दीक्षिता अर्याललगायतका कलाकारहरूको अभिनय रहेको छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बाँस्कोटाको संगीत, विपिन मल्लको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पार्श्व संगीत तथा श्याम कुँवरको रंग संयोजन छ । फिल्मको कार्यकारी निर्मातामा असिम काफ्ले रहेका छन् भने निर्माताहरू नेहान रिजाल, विकाश राज जोशी हुन् ।

