.jpg)
चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको २७औं वार्षिक साधारण सभा तथा १०औं महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष बनेका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी जीवन कुमार पराजुलीलाई पछि पार्दै पदाधिकारीमा सर्वाधिक ९५ मत प्राप्त गरे ।
निर्वाचनबाट संगठन उपाध्यक्षमा ७३ मतसहित रघुनाथ सापकोटा निर्वाचित हुँदा कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य निर्विरोध चुनिए । महिला उपाध्यक्षमा ७५ मत प्राप्त गर्दै दीपज्योति थापा चुनिएकी छन् । उनी ६ वर्षअघि पनि सोही पदमा निर्वाचित भएकी थिइन् । ४ जनाबीच भएको महासचिवको प्रतिस्पर्धामा भने गोपिकृष्ण चापागाईं ५४ मतका साथ विजयी भए ।
खुल्लातर्फ सचिव पदमा मदन रिजाल दोस्रो सर्वाधिक मतसहित निर्वाचित भएका छन् । उनले कुल खसेको १४० मतमा ९४ मत प्राप्त गरे । समावेशी सचिवमा भने महम्मद जालिम निर्विरोध चुनिए । कोषाध्यक्ष पदमा मनिष अन्जान (दाहाल) ७४ मतका साथ विजयी हुँदा सह-कोषाध्यक्ष पदमा ६२ मत प्राप्त गर्दै अर्जुन गुरागाईं निर्वाचित भए ।
८ जना सदस्य पदमा भने सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दीपराज क्षेत्री र सालिकराम न्यौपाने निर्विरोध चुनिएका छन् । संघको विधानमा २ जनालाई सदस्यमा मनोनीत गर्न पाउने व्यवस्था पनि रहेको छ । यसअघि धुव्रराज न्यौपाने मनोनीत भएका थिए । यसपटक पनि एकजना सदस्य मनोनीत गरिने जनाइएको छ ।

