यम थापाको निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री स्वस्तिमा खड्कालाई केन्द्रमा राखिएको ट्रेलरमा वादी समुदायका महिलाको बाध्यता र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।
नत्थी प्रथा (शोषणमूलक व्यवस्था)को आडमा वादी समुदायका छोरीमाथि हैकम जमाउन सभ्रान्त वर्गले दिने यातना र त्यसबाट प्रताडित वादी महिलाको कथालाई ट्रेलरले पेस गरेको छ । स्वस्तिमा वादी महिलाको भूमिकामा देखिएकी छन्, जो देह व्यापारमा लाग्न बाध्य छिन् । उनले आफ्नी छोरीलाई त्यसबाट टाढा राख्न गरेको संघर्ष नै फिल्मको मुख्य कथावस्तु रहेको देखिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा स्वस्तिमाले ‘लालीबजार’ भविष्यमा पनि आफूले गर्व गर्ने फिल्म रहेको बताइन् । उनले भनिन्, ‘मैले यो फिल्मलाई एकदमै विशेष रुपमा लिएकी छु । मैले धेरै वर्षपछि पनि फर्केर हेर्दा सधैं ‘चेयर्स’ गर्ने फिल्म हो यो । भोलि फिल्मको व्यावसायिक नतिजा जे जस्तो आउला तर मेरो लागि यो सधैंभरि गर्व गर्न लायक फिल्म हुनेछ ।’
वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यू गरेका छन् ।
‘जात्रा’ निर्माता कम्पनी षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशन प्रजापतीको छायांकन, यम थापा र प्रदीप भट्टराईको पटकथा तथा संवाद, मित्रदेव गुरुङको सम्पादन तथा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ । फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्मातामा छन् ।

