Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परालको आगो’को ट्रेलरमा दुई जोडीको कथा

फिल्मीखबर, काठमाडौं, 2026/04/16

PARAL KO AAGO

 

२०८१ सालमा राष्ट्रिय अवार्ड जित्न सफल फिल्म ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनारको तेस्रो निर्देशकीय फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण पक्षले चार मिनेटभन्दा लामो मर्मस्पर्शी ट्रेलर दर्शकमाझ ल्याएको हो । ट्रेलरले दुई विवाहित जोडीको कथा पेस गरेको छ । 

ट्रेलर अनुसार प्रकाश सपूत र सुहाना थापा नवविवाहित दम्पतीको भूमिकामा छन् । सुरुमा उनीहरूबीच अगाध मायाप्रेम देखिन्छ । तर, विस्तारै घरायसी कुरामा असमझदारी उत्पन्न हुँदा त्यसले झगडाको रुप लिन्छ । यसपछि सुहाना माइतीमा बस्न थाल्छिन् । प्रकाशले भने घरायसी काममा दुःख पाएको देखाइएको छ । उनीहरूबीचको मायाप्रेम र झगडाकै वरिपरि ट्रेलर घुमेको छ । 

ट्रेलरमा अर्का दम्पती सौगात मल्ल र सृजना अधिकारी भने आर्थिक रुपमा कमजोर भए पनि खुसी देखिन्छन् । फिल्ममा सौगातले जुठे पात्रको भूमिकामा अभिनय गरेका छन्, जो पेसाले दमाईं हो । यो पात्र असल र समझदार देखिन्छ । उनको पात्रमार्फत महिलालाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । समग्रमा ट्रेलर दृश्यभाषाको हिसाबले प्रभावशाली देखिन्छ । 

वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुल बहादुर अधिकारी, मन्जिला बाँनिया, रेनु न्यौपाने लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । हरिओम सिने मेकर्सका सुशील पोखरेल लगानीकर्ता रहेको फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन छ ।

आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, किरण तुलाधरको पार्श्व संगीत, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ ।

 

Most Visited News (monthly)