.jpg)
परिक्षेद सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’मा कलाकारको लाइनअप बलियो देखिएको छ । नयाँदेखि पुरानो पुस्ताका स्थापित कलाकारहरूको ‘पल्टन’ यो फिल्ममा देखिन्छ । बुधबार निर्माण पक्षले थप एकजना कलाकार भित्र्याउँदै टिम विस्तार गरेको छ । फिल्ममा अभिनेत्री केकी अधिकारी ‘महारानी’ पात्रको भूमिकामा अनुबन्धित भएकी हुन् ।
केकीसँग कागजी सम्झौता गरेपछि फिल्मका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भनेका छन्, ‘महाराजधिराजकी महारानीलाई सु-स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु ।’ बुझिए अनुसार फिल्ममा केकीलाई वर्षा सिवाकोटीको ठाउँमा लिइएको हो । यसअघि ‘महारानी’ पात्रमा वर्षा अनुबन्धित भएकी थिइन् ।
वैशाख अन्तिमबाट छायांकन सुरु हुने यस फिल्ममा केकीसहित नीर शाह, रमेश उप्रेती, आर्यन सिग्देल, पुष्प खड्का, वर्षा राउत, गजित विष्ट, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, आशा पौडेललगायत ८० जना कलाकारहरूको अभिनय रहने जनाइएको छ । फिल्ममा पुष्प र केकीको जोडी बाँधिनेछ ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्मातामा रहेका छन् । फिल्मलाई नवराज थापाले छायांकन गर्नेछन् । सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरु गर्ने तयारी गरिएको फिल्मलाई काठमाडौं, भक्तपुर र कीर्तिपुरमा पनि खिचिनेछ । फिल्मलाई यस वर्षको दशैंमा रिलिज गरिँदैछ ।

