
वैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मालती मंगले’को प्रचार अभियान सुरु गरिएको छ । यसको सुरुवात मंगलबार नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा आयोजित महोत्सवबाट गरियो । त्यहाँ फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकालले विशेष प्रस्तुति दिँदै दर्शकहरूलाई फिल्मबारे जानकारी दिए ।
महोत्सवमा रामकृष्णसहित कमेडियन तथा फिल्मका कलाकार मेक्सम गौडेल, गायिका ऋतिका श्रेष्ठ र कार्यकारी निर्माता सागर ज्ञवाली सहभागी थिए । कार्यक्रममा गायक ढकाल र गायिका श्रेष्ठले फिल्ममा समावेश ‘ढुंगामाथि लेउ’ गीत गाएर दर्शकलाई नचाउँदा गौडेलले भने हास्य प्रस्तुति दिए । कार्यक्रममा फिल्मको गीत र टिजर पनि देखाइएको थियो ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी लगायतको अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् ।
रानी फिल्म्सको ब्यानरमा बनेको यस फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् । फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन तथा डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ ।

