
नेपालीमा एउटा चर्चित उखान छ, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ संसारको कुनै पनि देशमा नदेखिने अनौठो किसिमको जात्रा काठमाडौंको हाँडीगाउँमा हुने भएकाले यो उखान बनेको हो । नेपाली फिल्म क्षेत्रमा पनि बेला बखतमा यो लोकोक्ति चरितार्थ हुने गरेको छ । कहिले निर्देशक बिना नै फिल्म घोषणा हुन्छ त कहिले मुख्य विधा हटाएर अवार्ड बाँडिन्छ ।
मंगलबार एउटा फिल्मले गरेको घोषणा पनि हाँडीगाउँको जात्राजस्तै विचित्रको छ । नयाँ वर्षको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्म ‘मास्टर्नी’को प्रदर्शन मिति र फर्स्टलुक टिजर सार्वजनिक गरिएको थियो । त्यसमध्ये टिजरले धेरैलाई अचम्मित तुल्याएको छ । किनकि, टिजरमा फिल्मलाई रिलिजअघि नै ब्लकबस्टर घोषणा गरिएको छ ।
भदौ १२ गते (जनै पूर्णिमा)लाई प्रदर्शन मिति तय गरिएको फिल्मको टिजरमा भनिएको छ, ‘२०२६ को सबैभन्दा ठूलो ब्लकबस्टर ।’ सम्भवतः प्रदर्शन अगावै ब्लकबस्टर घोषणा गरिएको यो विश्वकै पहिलो फिल्म हो । यो घोषणाले फिल्मप्रति निर्माताको आत्मविश्वास देखाए पनि रिलिजअघि नै गरिएको यस्तो दाबी हास्यास्पद र ‘स्टन्टबाजी’ देखिन्छ ।
कुनै पनि फिल्मले ‘बिगेस्ट ब्लकबस्टर’को ट्याग तब मात्र पाउँछ, जब त्यो आफ्नो रिलिज वर्षमा सर्वाधिक कमाइ गर्ने फिल्म बन्छ । उदाहरणको रुपमा गत वर्षको ‘बिगेस्ट ब्लकबस्टर’ फिल्म ‘परान’ हो । वर्षमा १० प्रतिशत फिल्मले पनि लगानी उठाउन नसकेको परिपेक्षमा कुनै पनि फिल्मलाई प्रदर्शनभन्दा अघि नै ‘ब्लकबस्टर’ घोषणा गर्नु भनेको जग हँसाउनु र आत्मरतिमा रमाउनु मात्र हो ।
सुभेन्दू घोषको निर्देशनमा बनेको ‘मास्टर्नी’लाई अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेकी हुन् । यसमा उनी स्वयंको मुख्य भूमिका रहेको छ भने सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, विशाल पहारी, रक्षा थापा लगायतको पनि अभिनय छ । फिल्ममा प्रियंकासहित आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्मातामा छन् ।

