Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक्ष्मणले ‘कोटी कोटी प्रणाम’ बनाउने, के धार्मिक फिल्म हो ?

फिल्मीखबर, काठमाडौं, 2026/04/15

Laxman Subedi

 

गत वर्ष प्रदर्शन भएको ‘सतीदेवी’बाट प्रशंसा बटुलेका निर्देशक लक्ष्मण सुवेदीले नयाँ फिल्मको घोषणा गरेका छन् । उनले नयाँ वर्षको अवसर पारेर मंगलबार फिल्म ‘कोटी कोटी प्रणाम’को निर्माण घोषणा गरेका हुन् । फिल्मको घोषणा गर्नुअघि उनले काठमाडौंको गौरीघाटस्थित हनुमान मन्दिरमा हनुमान पूजन, सामुहिक १०८ हनुमान चालीसा पाठ र हवन गरेका थिए । 

फिल्मको घोषणासँगै उनले ‘टाइटल पोस्टर’ पनि सार्वजनिक गरेका छन् । जसमा शीर्षकलाई केसरी रंगमा तयार पारिएको छ भने त्यसमा धर्म ध्वजा पनि देख्न सकिन्छ । यसले धार्मिक कथावस्तुमा फिल्म बन्न लागेको संकेत गर्छ । त्यसो त फिल्मको नाम पनि धार्मिक नै सुनिन्छ । तर, फिल्म धार्मिक कथावस्तुमा आधारित नरहेको निर्देशक सुवेदीले बताएका छन् । 

फिल्मीखबरसँगको कुराकानीमा उनले भने, ‘यो धार्मिक फिल्म होइन । यसको कथावस्तु धर्मसँग जोडिएको छैन । भगवानप्रतिको आस्था र सम्मानस्वरूप यो नाम राखेको हुँ । यो विशुद्ध सामाजिक विषयवस्तुमा आधारित छ । पारिवारिक पुनर्मिलनको कथामा फिल्म बन्न लागेको हो ।’ उनका अनुसार फिल्मले समाजलाई सोच्न बाध्य पार्ने विषय उठाउनेछ । 

भदौ पहिलो साताबाट कर्णाली प्रदेशको सुर्खेत जिल्लामा छायांकन गरिने यस फिल्ममा कलाकार र प्राविधिक भने तय भएका छैनन् । निर्देशक सुवेदीले फिल्ममा नयाँ र पुराना कलाकारको संयोजन रहने बताए । अहिले कलाकार छनोट प्रक्रियाको काम चलिरहेको उनको भनाइ छ । दिलासा क्रियसनको ब्यानरमा बन्ने फिल्ममा उनी स्वयंको लेखन तथा गीत रचना छ ।

Most Visited News (monthly)