.jpg)
२०८१ सालमा प्रदर्शन भएको ‘बोक्सीको घर’बाट ठूलो व्यावसायिक सफलता हासिल गरेकी अभिनेत्री केकी अधिकारीले यस वर्ष नयाँ फिल्म ‘स्टेशन’ बनाउने भएकी छन् । मंगलबार नयाँ वर्ष २०८३ को अवसरमा उनले यो फिल्मको निर्माण घोषणा गरेकी हुन् । आगामी भदौ १९ गतेलाई फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ ।
केकीले पोस्टरमार्फत फिल्मलाई ‘बोक्सीको घर’को छनक दिन खोजेकी छन् । फिल्मको शीर्षकलाई रातो रंगमा तयार पारिएको छ भने नामलाई बीचबाट काटेर ‘शन’ शब्दमा टेप टाँसिएको छ । पोस्टरको पृष्ठभूमिमा भने ल्यापटपदेखि अनुसन्धानका लागि भित्तामा टाँसिएका विभिन्न कागजहरू देखिन्छन् । यसले क्राइम-थ्रिलर जनरामा फिल्म बन्न लागेको संकेत गर्छ ।
केकीले फिल्मको निर्माण घोषणा गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रंग उस्तै रहन्छ । त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा- स्टेशन ।’ उनले बदलिएको समयमा बदलिएको कथा लिएर आउन लागेको बताएकी छन् । निर्माणको हिसाबले यो उनको तेस्रो फिल्म हुनेछ ।
केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । रंगमञ्च पृष्ठभूमिका उनले यसअघि ‘बोक्सीको घर’ निर्देशन गरेका थिए । यसमा कथा भारती स्वयंको छ । फिल्मको निर्मातामा बद्री अधिकारी रहेका छन् । डेढ दशकअघि ‘इन्द्रावती’, ‘लडाइँ’ लगायतका फिल्मको निर्देशन समेत गरेका उनी केकीका बुबा हुन् ।

