
२०८१ सालमा फिल्म ‘बुलाकी’बाट लेखन विधामा राष्ट्रिय अवार्ड जितेका निर्देशक राजबहादुर सानेले नयाँ फिल्मको घोषणा गरेका छन् । नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार उनले फिल्म ‘गंगारानी’ निर्माणको घोषणा गरेका हुन् । फिल्मको घोषणासँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ ।
स्केच पोस्टरमा एक युवतीलाई घरैघरले घेरिएको गल्लीमा उभिएर बसेको देख्न सकिन्छ । छेवैमा एउटा गाडी पनि छ । उनको नजिकैबाट एक युवक गितार भिरेर हिँडिरहेका देखिन्छन् । उनीहरूबीच हेराहेर भए पनि बोलचाल भएको छैन । पोस्टरले धनाड्य युवती र संगीत क्षेत्रमा संघर्षरत युवकबीचको प्रेमकथामा फिल्म आधारित हुने स्पष्ट संकेत गर्छ ।
आहा फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक साने स्वयंको लेखन रहेको छ । आगामी जेठ अन्तिममा छायांकन गरिने यस फिल्ममा कलाकार र प्राविधिक भने तय भएका छैनन् । निर्देशक सानेका अनुसार यतिबेला कलाकार छनोट प्रक्रियाको काम चलिरहेको छ । फिल्ममा स्थापित कलाकारहरूको अभिनय रहने उनले बताए ।
निर्देशक सानेले यसअघि आधा दर्जनभन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन् । सन् २०१४ मा प्रदर्शन भएको ‘पाठशाला’बाट निर्देशकीय यात्रा सुरु गरेका उनले यसपछि ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘वीरांगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’ र ‘सिटामोल’ फिल्मको निर्देशन गरेका छन् । उनको नयाँ फिल्म ‘लज्जावती’ प्रदर्शनको पर्खाइमा छ ।

