
यस वर्षको विजयादशमीमा रिलिज हुने भनिएको फिल्म ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । मंगलबार नयाँ वर्षको अवसरमा निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै उनलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएको हो । पोस्टरमा पुष्पलाई नग्न र राजकीय अवतारमा देख्न सकिन्छ ।
पुष्प गत माघ महिनामा नै यो फिल्ममा अनुबन्धित भएका हुन् । त्यसबेला उनले निर्माता कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्रालिसँग करारपत्रमा सम्झौता गर्ने क्रममा आफ्नो रगतले औँठाछाप लगाएका थिए । मंगलबार उनले आफू चित्रित पोस्टर सामाजिक सञ्जालमा सेअर गर्दै फिल्ममा अधिराज पात्रको भूमिकामा अभिनय गर्न लागेको जनाएका छन् ।
यसअघि उक्त भूमिकामा निर्माताले पल शाहलाई अनुबन्धित गरेका थिए । तर, पछि पलले आफ्नो अर्को फिल्म ‘यानीमाया’लाई समय दिनुपर्ने भएपछि फिल्मबाट हात झिकेका थिए । जसले गर्दा गत वर्ष नै प्रदर्शन हुनुपर्ने फिल्म छायांकनमा समेत जान सकेन । अब भने वैशाख दोस्रो साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।
परिक्षेद सेनको निर्देशनमा बन्ने यस फिल्ममा पुष्पसहित नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल लगायत कालाकारहरूको अभिनय रहनेछ । फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि फिल्म ‘बुलाकी’ बनाएका थिए, जसले २०८१ सालमा राष्ट्रिय अवार्ड जितेको थियो ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्मातामा रहेका छन् । निर्देशक सेन स्वयंको लेखन रहेको फिल्मलाई नवराज थापाले छायांकन गर्नेछन् । सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरु गर्ने तयारी गरिएको फिल्मलाई काठमाडौं, भक्तपुर र कीर्तिपुरमा पनि खिचिने जनाइएको छ ।

