.jpeg)
अभिनेता जितु नेपालले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘कार्की साइँला’ आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार नयाँ वर्षको अवसर पारेर निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो ।
पोस्टरमा जितुलाई भरियाको रूपमा प्रस्तुत गरिएको छ । उनले डोकोमा पहाड बोकेको देख्न सकिन्छ । त्यही पहाडमा अरू पाँचजना भरिया डोकोमा समान बोकेर हिँडिरहेका देखिन्छन् । पोस्टरमा एक जोडीको प्रेमिल दृश्य पनि समेटिएको छ । यसले फिल्मको मुख्य कथावस्तु भरियाको संघर्ष र प्रेम जीवनमा आधारित रहेको संकेत दिन्छ ।
नेपालको पूर्वी जिल्ला धनकुटा, सुनसरीको बराहक्षेत्र, चतरा लगायतका स्थानमा छायांकन गरिएको यो फिल्ममा जितुसहित प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, विरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा बनेको यस फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् भने निर्मातामा बालकुमार राई रहेका छन् । अभिनेता सविन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । फिल्ममा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहेको छ ।

