.jpg)
वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पाँच पाण्डव’मा अभिनेता सुशील सिटौलाको प्रवेश भएको छ । निर्माताले उनलाई सोमबार फिल्मको मुख्य भूमिकामध्ये एकमा अनुबन्धित गरेका हुन् । यसअघि उक्त भूमिकामा कलाकार सागर लम्साल ‘बले’ थिए । उनीमाथि बलात्कारको आरोप लागेपछि निर्माताले उनलाई फिल्मबाट निष्कासन गरेका हुन् ।
सुशील अभिनयमा अब्बल कलाकार मानिन्छन् । उनले ‘होस्टेल रिटर्न्स’, ‘रणवीर’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘गाँजाबाजा’, ‘सायद २’, ‘मायावी’, ‘गुन्यो चोलो’ लगायतका फिल्ममा गरेको अभिनयको दर्शक तथा समीक्षकबाट प्रशंसा भएको थियो । ‘पाँच पाण्डव’मा उनले सहदेव पात्रको भूमिकामा अभिनय गर्ने जनाइएको छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता तथा काली रानी श्रेष्ठ निर्माता रहेको यस फिल्ममा सुशीलसहित हरिवंश आचार्य, जितु नेपाल (मुन्द्रे), आर्यन सिग्देल, महेश त्रिपाठी, दीपाश्री निरौला, रजनी गुरुङ, प्रशान्त ताम्राकार, इभा गिरी लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई श्याम तामाङले छायांकन गरिरहेका छन् ।
निर्देशक निरौलाले फिल्मको शीर्षक ‘पाँच पाण्डव’ भए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नभएको बताएका छन् । उनका अनुसार यो पूर्ण रूपमा एक सामाजिक कथा हो । फिल्ममा महाभारतका पाँच पाण्डव (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव)को विम्बलाई प्रयोग गर्दै समकालीन समाजको यथार्थ कथा भनिने उनले बताए ।

