आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले २ मिनेट लामो टिजर दर्शकमाझ ल्याएको हो । दुई मितबीचको मित्रता र झगडालाई टिजरको केन्द्रमा राखिएको छ । अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल मितको भूमिकामा देखिएका छन् ।
टिजरको सुरुवातमा दयाहाङ र सौगातले कहिल्यै झगडा नगर्ने वाचा गर्दै मितेरी साइनो गाँसेको देखाइएको छ । तर, अन्तिम दृश्यमा उनीहरू एकअर्कासँग लडिरहेका देखिन्छन् । एक युवतीका कारण उनीहरूबीच द्वन्द्व सिर्जना भएको संकेत टिजरले दिएको छ । समग्रमा टिजरले मितेरी साइनो, त्रिकोणात्मक प्रेम र विवाहेत्तर सम्बन्धजस्ता विषयलाई प्रस्तुत गर्न खोजेको देखिन्छ ।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र सौगातसहित तेरिया फौजा मगर, खड्गबहादुर पुन (खबपु) पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर लगायतको अभिनय रहेको छ । तेरियाको यो डेब्यू फिल्म हो ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । उनले यसअघि ‘घरज्वाइँ’ बनाएका थिए । फिल्ममा महेश राईको लेखन, लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन, प्रभात विष्टको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठको पार्श्व संगीत, कुनाल सुनुवारको रंग संयोजन तथा मुकेश शाहको साउन्ड डिजाइन रहेको छ ।

